नागढुङ्गादेखि धुलिखेलसम्म रेलमार्ग परियोजनाको प्रतिवेदन तयार गर्न लगानी बोर्डलाई जिम्मा

२७ कार्तिक २०७४, सोमबार ११:०५

कात्तिक २७, काठमाडौं । लगानी बोर्डले नागढुङ्गादेखि कोटेश्वर हुँदै धुलिखेलसम्मको रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने भएको छ ।

सोमबार प्रधानमन्त्री कार्यालयमा बसेको बोर्डको बैठकले लगानी बोर्डलाई विस्तृत सम्भाव्यता अध्ययन गर्दै यसको निर्माण अघि बढाउन जिम्मा दिएको छ । हालै मात्रै लगानी बोर्डले रेलको बारेमा एक अध्ययन रिपोर्ट तयार पारेको थियो । जसलाई सोमबार बसेको बोर्डको बैठकमा पेश गरिएको थियो ।  रिपोर्ट अनुसार काठमाडौंमा ७९ किलोमिटर रेलमार्ग ३ खर्ब १६ अर्बमा निर्माण गर्न सकिन्छ । जसमा रुट एक लगानी बोर्ड आफैंले अघि बढाउुनपर्ने भनि उल्लेख गरिएको थियो ।

अब बोर्डले रुट १ को लगानी बोर्डले सम्भाव्यता अध्ययनका साथै विस्तृत अध्ययन समेत गर्नेछ । निर्माणका लागि यसलाई सार्वजनिक निजी साझेदारी अन्र्तगत बुट मोडलमा अघि बढाइनेछ ।  लगानी बोर्डले पेश गरेको रिपोर्टमा रुट दुईको निर्माणको जिम्मा भने रेल विभागलाई दिने भनिएको छ । त्यस्तै रुट २ को रुपमा विकास गर्न लागिएको रुट भने बुढानिलकण्ठ सातदोबाटो हुँदै काठमाडौ तराई द्रुत मार्गसम्म पुग्छ ।

 

गत वर्षको पुष २५ गते बसेको बोर्डको बैठकले सम्भाव्यता सँगै मेट्रोको डेभलपमेन्ट मोडल तथा अनुदान के कसरी दिन सकिन्छ भनेर अध्ययन गर्न एक कमिटी गठन गरिएको थियो । जसले बनाएको रिपोर्ट नै सोमबार बोर्डको र्बठकमा पेश गरिएको हो ।  काठमाडौंमा रेलको बारेमा पटक पटक अध्ययनहरु भएपनि ठोस् रुपमा भने काम अघि बढ्न सकेको छैनन् । यसअघि जापान सहयोग नियोग (जाईका), रेल विभाग र कोरियन इन्जिनियरिङ कम्पनीले अध्ययन गरिसकेका थिए । तर डीपीआरको अध्ययन भने अहिलेसम्म हुन सकेको छैन ।