धुर्मुस–सुन्तली फाउण्डेसनलाई एनआरएनए नर्वेद्वारा सहयोग

२० कार्तिक २०७४, सोमबार ०५:३९

कात्तिक २०, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेले एकीकृत नमूना वस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनलार्इ सहयोग गरेको छ ।

कल्याणकारी कार्यका लागि संकलन गरेको एक लाख ४० हजार ७८० रूपैयाँ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसीसी बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई हस्तान्तरण गरेका हुन् ।

उक्त रकम रौतहट जिल्लाको चन्द्रनिगाहपुरस्थित सन्तपुरमा रहेका ४७ बाढीपीडत परिवारहरुका लागि निर्माण गरिने एकीकृत नमूना वस्तीमा उपयोग गरिने छ । एकीकृत वस्तीको निर्माण लागत करीव ६ करोड रहेको फाउण्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए ।

उनले गैरआवासीय नेपाली संघले सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्दै थप सहयोगको अपेक्षा पनि व्यक्त गरे ।
संघका अध्यक्ष भट्टले धुर्मुस सुन्तली फाउण्डेसनले संचालन गरेका परोपकारी कार्यमा संघको सदैव सहयोग रहने विश्वास दिलाएका थिए ।