दलहरु दोस्रो चरणको निर्वाचनमा केन्द्रित

१२ मंसिर २०७४, मंगलवार ०२:४८

मंसिर १२, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलहरु दोस्रो चरणको निर्वाचनमा केन्द्रित भएका छन् ।

 

२१ मंसिरमा हुने दोस्रो चरणको निर्वाचनअन्र्तगत ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ सिटका लागि प्रतिस्पर्धा हुदैँ छ । यी क्षेत्रमा राजनीतिक दल एवं उम्मेद्वारहरुको चुनावी कार्यक्रमको तीव्रता पाएको छ ।  पहिलो चरणमा निर्वाचन सम्पन्न भएका जिल्लाका प्रभावशाली नेताहरुको प्रत्यक्ष सहभागितामा दोस्रो चरणको निर्वाचनको चुनावी कार्यक्रममा हुने भएपछि चुनावी कार्यक्रम झनै रोचक हुने भएको छ ।

मंसिर २१ मा हुने निर्वाचन प्रचारमा पपहिलो चरणमा निर्वाचन मैदानमा रहेका नेताहरुसमेत सहभागी हुदै छन् । उनीहरुमाथी भने दोहोरो जिम्मेवारी छ । काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, गगन थापा त्यस्तै एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेताहरु दोस्रो चरणको निर्वाचनमा उम्मेद्वार छन् ।

यसै गरी राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबनधनका महन्थ ठाकुर, उपेनद्र यादव, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारी, राजकिशोर यादव, अशोक राई, अनिल झा, रामसहाय यादव लगायतका शीर्ष नेताहरु पनि दोस्रो चरणकै निर्वाचनमा उम्मेद्वार छन् । सबै पार्टीका शीर्ष नेताहरु नै दोस्रो चरणको निर्वाचनका उम्मेद्वार भएका कारण पहिलो चरणभन्दा दोस्रो चरणको निर्वाचनलाई महत्वका साथ हेरिउको छ । दोस्रो चरणको निर्वाचनबाटै भावी राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका महत्वपूर्ण पदमा पुग्ने व्यक्तिको भाग्यको फैसला हुदैँ गरेका कारण पनि दोस्रो चरणको निर्वाचनलाई महत्वका साथ हेरिएको हो । –राजधानी दैनिक