तरकारी आयातमा मासिक एक अर्ब, तीन महिनामा सवा पाँच अर्बको चामल आयात

६ मंसिर २०७४, बुधबार ०२:३४

मंसिर ६, काठमाडौं । राजनीतिक दलहरूले आत्मनिर्भर अर्थतन्त्रको नारा लगाइरहँदा नेपालको परनिर्भरता भने झन्–झन् बढ्दै गएको देखिएको छ ।


स्वदेशमै उत्पादन र निर्यातको पर्याप्त सम्भावना भएका दैनिक उपभोग्य वस्तुमा समेत नेपालको परनिर्भरता अत्यासलाग्दो देखिएको छ । यसको पछिल्लो उदाहरण तरकारी बनेको छ । नेपालीहरूले दैनिक सरदर ३ करोड २२ लाख रुपैयाँबराबरको आयातीत तरकारी खाने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो तीन महिना (साउनदेखि असोजसम्ममा) भारतबाट २ अर्ब ९० करोड ३८ लाख रुपैयाँबराबरको तरकारी आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९।९ प्रतिशतले बढी हो । नेपालले गत आव ०७३र७४ को पहिलो तीन महिनामा २ अर्ब ६४ करोड रुपैयाँको तरकारी आयात गरेको थियो ।

 

नेपालीले काम गर्न छाडेकै कारण तरकारीको आयात बढेको वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र ९सिप्रेड०का कार्यकारी निर्देशक जयमुकुन्द खनाल बताउँछन् । ‘नेपालीहरूले खेती कर्म गर्न नै छाडिसके, रेमिट्यान्सको आयबाट उपभोग्य वस्तु खरिद गर्ने प्रवृत्ति बढिरहेको छ,’ उनले भने, ‘यही कारण तरकारी, चामल तथा अन्नबालीको आयात उच्चदरमा बढिरहेको छ ।’   विदेशमा जस्तोसुकै दुःख गर्न तयार हुने, तर स्वदेशमा उद्यम तथा खेती–किसानी गर्न लजाउने प्रवृत्तिले नेपालको परनिर्भरता झन्झन् बढ्दै गएको उनको भनाइ छ ।

निर्यातमा भने उच्च गिरावट

चालू आर्थिक वर्षको पहिलो ३ महिनामा भारततर्फ जम्मा ३ करोड ९७ लाख रुपैयाँको तरकारी निर्यात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३ प्रतिशतले कम हो । अघिल्लो आव २०७३र७४ को असोजसम्ममा ५ करोड ९२ लाख रुपैयाँको तरकारी निर्यात भएको थियो । त्यसअघि २०७२र७३ को पहिलो ३ महिनामा १६ करोड १४ लाखको तरकारी निर्यात भएको थियो ।  भारतबाहेकका अन्य कुनै पनि मुलुकमा नेपालको तरकारी निर्यात हुँदैन ।

तीन महिनामा सवा पाँच अर्बको चामल आयात

समीक्षा अवधिमा नेपालमा सवा ५ अर्ब रुपैयाँबराबरको चामल आयात भएको छ । कुनै समय भारतमा धान–चामल निर्यात गर्ने नेपालले पछिल्लो तीन महिनामा ५ अर्ब ३७ करोड ६१ लाख रुपैयाँबराबरको चामल आयात गरेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४०।९ प्रतिशतले बढी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।  राष्ट्र बैंकका अनुसार गत आव ०७३९७४ को पहिलो तीन महिनामा नेपालले ३ अर्ब ८१ करोड रुपैयाँको चामल आयात गरेको थियो । –नयाँ पत्रिका दैनिकबाट