डा. भट्टराई कांग्रेससँगै मिलेर भोट माग्न थाले

१७ कार्तिक २०७४, शुक्रबार ०४:१२

कात्तिक १७, गोरखा । नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा–२ प्रतिनिधि सभाका उम्मेदवार डा. बाबुराम भट्टराईले देशमा विकास र समृद्धि ल्याउन मंसिर १० गतेको निर्वाचन नयाँ शक्ति र नेपाली कांग्रेस बीचको गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

 

नेपाली कांग्रेसको सहयोगमा गोरखा–२ का उम्मेदवार भएका डा भट्टराईले बिहीबार गोरखाको बारपाक पुगेर चुनावी घरदैलो र चुनावी सभाका क्रममा अर्थमन्त्री, प्रधानमन्त्री हुँदा आफूले विकास तथा निर्माणको जग राखेको भन्दै सो पूरा गर्न आफ्नो जित आवश्यक रहेको बताए ।  उनले भने, ‘मेरो उम्मेदवारी कसैको विरुद्ध होइन । शान्ति, संविधान कार्यान्वयन र स्थिरताका लागि हो ।’ आफूले शहीदको सपनालाई घात गरेको प्रतिस्पर्धीले आरोप लगाउने गरेको भन्दै भट्टराईले शहीदका सपना राजतन्त्र अन्त्य गर्दै देशलाई विकास र समृद्धितर्फ लैजाने थियो भन्दै विकास र समृद्धिको नेतृत्व नयाँ शक्तिले गर्दै आएको दाबी गरे ।

 

आफूलाई गोरखा–२ मा उम्मेदवार हुन निषेध गरिएको भन्दै भट्टराईले नेता नारायणकाजी श्रेष्ठतर्फ संकेत गर्दै भने, ‘उहाँ माओवादी होइन । उहाँ किन माओवादी हुन रहर गरिरहनुभएको छ मैले कुरो बुझेको छैन ।’ शान्ति प्रक्रिया आफ्नो पहलमा भएको भट्टराईको भनाइ थियो ।  यस्तै, भट्टराईले बारपाकीलगायत भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न कम्तीमा रु। पाँच लाखका दरले अनुदान दिनुपर्ने बताए । आफ्नो पालामा बारपाक सडक निर्माण शुरु भएको बताउँदै उनले एक वर्षभित्रमा सडक कालोपत्र गरिने बारपाकीलाई आश्वासन दिएका छन् ।  चुनावी सभालाई गोरखा–२ प्रदेशसभा (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले आफूलाई जिताएर विकासको ढोका खोल्न बारपाकवासीलाई आग्रह गरे ।  यस्तै, उम्मेदवारहरु भट्टराई र दवाडीले बारपाकीका घरघर पुगेर चुनावी घरदैलो र भोट मागेका छन् । चुनावी घरदैलो र सभामा नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए । (रासस)