झापा पुगेर ओलीले सम्झिए भूमिगतको जीवन

२८ कार्तिक २०७४, मंगलवार ०४:०६

कात्तिक २८, काठमाडौं । चुनाव प्रचारप्रसारका लागि गृह जिल्ला  झापा पुगेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सधैँको तुलनामा यसपटक भिन्न रुपमा प्रस्तुत भए । चारदिने झापा बसाईका क्रममा दर्जनौ कार्यक्रमलाई सम्बोधन गरेका ओली पटक–पटक भावुक बने, आँखाभरि आँसु पारे ।

कार्यक्रममा बोलिरहदा ओलीले भूमिगत कालमा आफू हिडेका बाटाघाटा सम्झिए । उनलाई खाना पकाएर खाना दिने भाउजुहरु सम्झिए । त्यसवेला आफुले माया गरेको भाईबहिनीहरु पनि ओलीले सम्झिए । गृह जिल्लमा पुगेर यस्तो शैलीमा ओली बोलदा उनका बोली सुन्नेहरुका पनि आँसु रसाएका थिए ।
सम्बोधनका क्रममा ओलीले आफ्नो भूमिगत जीवन र प्रजातन्त्र पुनस्र्थापनापछिका आफ्ना राजनीतिक गतिविधि स्मरण गरे । साथै उनले वाम गठबन्धनलाई मत दिएर जिताउन पनि मतदतालाई आग्रह गरे । आफुले राष्ट्रिय राजनीति हेर्नुपर्ने भएकाले झापा आइरहन नसक्ने भन्दै उनले मतदातालाई आश्वस्त पार्ने प्रयास गरे ।   म राष्ट्रिय राजनीति गर्ने मान्छे, मैले देशभरका समस्या हेर्नुपर्छ, विभिन्न जिलला पुग्नुपर्छ, अध्यक्ष ओलीले भने, मन लागेर पनि झापा आउन भ्याइरहेका छैन, तपाईहरुलाई नसम्झिएर, वास्ता नगरेर म यहाँ नआएको होईन । आउन चाहेर पनि आउन नभ्याएको हो । मेरो बाध्यतालाई तपाईहरुले बुझ्नुहुनेछ ।

ओलीको सुन्दर कप

ओली सँग सधैँ एउटा सुन्दर र आकर्षक कम हुन्छ । ओली देशका जुन कुनामा पुगे पनि उनका सहयोगीले एउटा थर्मस, त्यो कप र औषधी बोक्न छुटाउँदैनन् । जब ओली मञ्चमा बोल्न थाल्छन् सहयोगीले बिर्को खोल्न र बन्दा गर्न मिल्ने उक्त कपमा मनतातो पानी लगेर राखिदिन्छन् । ओली तातोपानी, औषधी खादै आफ्नो मन्तब्य राखिरहेका हुन्छन् । गृहजिल्लाका बासिन्दाले ओलीको पानी पिउँने यो कप औधी मन पराउँछन् । ओली झापा आएपछि यही कपको चर्चा चलिरहन्छ ।

चियाको स्वाद

२४ गते गृहजिल्ला टेकेका ओलीले २६ गते एउटा अनौठो रहर गरे । अध्यक्ष ओली चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्र दौडिरहँदा एक्कासी एउटा चिया पसल सम्झिए । उनले खजुगाछीको उक्त चिया पसलमा जसरी पनि पुग्ने इच्छा गरे । २०२५ सालतिर भूमिगत कालमा उहाँले त्यो चिया पसलमा बसेर धेरै पटक चिया पिउनुभएको रहेछ, ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने ।
ओली चिया पसल पुगेर बाहिर राखेको मुढामा बसे । र चिया पिए । बाहिर खासै केही नखाने ओली त्यहाँ चिया पिउने इच्छा गरेपछि सहयोगीले पनि रोकिएनन् । चिया पिउँदै गर्दा पुरानो स्वाँदसँग तुलना गर्दै उनले भने पहिलेको चियाको स्वाद त ६० प्रतिशत मात्रै बाँकी रहेछ नि । भूमिगत कालमा उनले परम्परागत सिसाको गिलासमा चिया पिएका थिए । यस पटक प्लास्टिकका गिलास प¥यो । चिया पिउने मेसो मिलाईदिएका थिए ।, स्थानीय जयनारायण साहले । चिया पिइसकेर ओलीले साहलाई धन्यबाद पनि दिए ।

निर्वाचन अभियानमा व्यस्त रहेकै बेला सोही दिन ओलीले अर्को एउटा आकस्मिक यात्रा तय गरे । उनी गौरीगन्ज–५ स्थित चिलारा टोलमा रहेको ताजपुरिया बस्ती पुगे । अध्यक्ष ओलीलाई नौ वर्षदेखि खाना बनाएर खुवाउँदै आएका सहयोगी गोविन्द ताजपुरियाको घर थियो त्यहाँ । गौरीगन्जबाट तीन किलोमिटर दक्षिण–पश्चिम चिलारामा साँझ ६ः२५ बजे पुगेका ओली झण्डै २० मिनेट त्यहाँ बसे । ओली २ गते पुनः झापा फर्किने गरी मंगलबार दिउँसो राजधानी फर्कदैछन् ।