जीतपुरसिमरा उपमहानगरपालीकामा ८४ करोड ५० लाख रकम बिनियोजन

२ मंसिर २०७४, शनिबार ०६:४६

श्याम गुप्ता

मङ्सिर २ ,बारा ।
सडक सञ्जाल र शिक्षालाई प्रार्थमिकतामा राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको प्रथम नगर सभा विहिवार सम्पन्न भएको छ ।

उपमहानगरको प्रथम नगर सभाले चालु बर्षका लागि ८४ करोड ५० लाख दुई हजार आठ सय ९२ रुपैयाको बजेट बिनियोजन गर्दै सडक सञ्जाल , शिक्षालाई मुख्य प्रार्थमिकतामा राखेको हो । सभाले स्वास्थ्य , कृषी , सिचाइँ , शहरी विकास , पर्यटन , सहकारी लगायतका कार्यक्रममा बजेट बिनियोजन गर्दै उपमहानगरको निति , कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । उपमहानगरले चालु खर्च तर्फ ८ करोड ९२ लाख , पुजिगत तर्फ ४५ करोड १४ लाख र सशर्त अनुदान खर्च तर्फ ३० करोड २० लाखको बजेट विनियोजन गरेको हो ।
उपमहानगरका नगर प्रमुख डा.कृष्ण पौडेलले सभामा निति तथा कार्यक्रम गर्दै समृद्ध उपमहानगर बनाउँने अभियान अन्तर्गत पहिलो चरणमा चालु बर्षका लागि योजना ल्याईएको बताए । प्रथम सभामा बोल्दै नगर प्रमुख डा. पौडेलले नगरबासीको चाहनालाई समेटेर र उपमहानगरमा आवश्यक देखिएका योजनालाई बजेटमा समावेश गरिएको बताए ।

‘लामो समय पछि निर्वाचन भएको छ । उपमहानगरबासीको चाहना र अपेक्षा धेरै छन् । हामीले सकेसम्म योजना समेटने प्रयास गरेका छौ’ डा.पौडेलले भने ‘वडा र नगर स्तरीय योजनाले पहिलो चरणमा उपमहानगरमा परिवर्तन ल्याउँने छ । उपमहानगरबासीले परिवर्तनको महसुस गर्नेमा आशावादी छु ।’ उपमहानगरले सडक सञ्जाल तर्फ तीन करोड ९८ लाख , कृषीमा दुई करोड १६ लाख , शिक्षा एक करोड ३९ लाख , भवन निर्माण तथा शहरी बिकास तीन करोड ३० लाख , स्वास्थ्य एक करोड ८ लाख १५ हजार , लैंगिक समानता तथा सामाजिक समावेशीकरण एक करोड , खानेपानी तथा सरसफाई एक करोड ३८ लाख , संस्थागत विकास तथा सेवा प्रवाह ९१ लख , सहकारी ५५ लाख , संस्कृति प्रवद्र्धन ६२ लाख , उर्जा ५५ लाख , उद्योग ३२ लाख ५० हजार , सिचाइँ २५ लाख , वन तथा भूसंरक्षण २५ लाख , पर्यटन ३० लाख र खेलकुद तर्फ १५ लाख बजेट विनियोजन गरेको छ ।

उपमहानगरले सबै क्षेत्रको पूर्वाधार निर्माणलाई प्रार्थमिकतामा राखेको नगर प्रमुख डा.पौडेलले बताए । नगर प्रमुख डा.पौडेलले राष्ट्रिय गौरवको आयोजना निर्माण र अव्यवस्थित बसोबासको समस्या समाधान गर्नका निम्ति उपमहानगरले गम्भिरताका साथ अघि बढाउँने डा.पौडेलको भनाई थियो । उपमहानगरको २४ वडाका लागि तोकिएको ६० लाख बजेटबाट आएको वडा स्तरिय योजनासहित नगर स्तरिय योजनाका लागि बजेट विनियोजन गरेको उपप्रमुख सरस्वती चौधरीले बताईन् । सभामा बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख चौधरीले योजना कार्यान्यवनमा उपमहानगर प्रतिबद्ध रहँने बताईन् ।

‘छोटो समयमा धेरै काम गर्नुछ , सकेसम्म हामीले पूर्वाधार निर्माणमा बजेट छुट्याएका छौं’ चौधरीले भनिन् ‘कार्यान्यवन तर्फ पनि हामी गम्भिर हुँनु पर्छ । जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्नु पर्छ ।’उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेतीले आर्थिक बर्ष २०७४÷७५ का लागि प्रस्तुत निति , कार्यक्रम र बजेटका बिषयमा सभामा प्रष्ट्याएका थिए । उपमहानगर भित्रको सम्भावनाको पहिचान गर्दै छोटो समयमा नगर सभाको आयोजना गरी बिकासका कामलाई अघि बढाउँने प्रक्रिया सुरु गरिएको उप्रेतीले बताए ।
सिमराको होटल ईच्छामा आयोजित सो नगर सभामा उपमहानगरपालिका अन्तरर्गतको २४ वटा वडाबाट निर्वाचित एक सय २२ जना जनप्रतिनिधि सहभागी थिए ।