चीनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनप्रति शुभेच्छा प्रकट

६ मंसिर २०७४, बुधबार ०५:२२

मंसिर ६, काठमाडौं । चीनले नेपालमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनप्रति शुभेच्छा प्रकट गरेको छ।

 

मंगलबार बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र प्रवक्ता लु खाङले असल छिमेकीको हैसियतले नेपालको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास प्रकट गरे। ‘नेपालका सबै राजनीतिक दलहरूले मिलेर आसन्न निर्वाचन सफल तुल्याउने चीनको अपेक्षा छ’, पत्रकार सम्मेलनमा प्रवक्ता लुले भने, ‘आर्थिक विकासको नयाँ यात्रा तथा राजनीतिक स्थिरताको लक्ष हासिल गर्न नेपालका दलहरूले मिलेर निर्वाचन सफल पार्ने हाम्रो विश्वास छ।’

पत्रकार सम्मेलनमा निर्वाचनको मुखमा उम्मेदवारमाथि भैरहेका आक्रमणप्रति चीनको प्रतिक्रिया सोध्दा प्रवक्ताले लुले यस्तो धारणा व्यक्त गरेका हुन्।

नेपालमा निर्वाचन नजीक आइसक्दा उम्मेदवारहरूमाथि भैरहेका आक्रमणलाई चीनले पनि नियालिरहेको परराष्ट्र प्रवक्ता लुको भनाइ थियो।

उनले भने, ‘एक असल छिमेकी र असल साथीको हैसियतले चीनले नेपालको सार्वभौमिकता र देश अनुकूल गरिने निर्णयको सम्मान गर्दछ। निर्वाचनलाई सफल पार्न दलहरू मिलेरै अघि बढून् भन्ने चीनको पनि चाहना छ।’