एमालेद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

१४ मंसिर २०७४, बिहीबार १०:०७


मंसिर १४, काठमाण्डौ ।

नेकपा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बिहीबारको बैठकले गृह मन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट आफूखुसी रकम वितरण तथा निजामती कर्मचारी प्रणालीमा भद्रगोल अवस्था सिर्जना गरिएको जनाउँदै सोबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । निर्वाचन आचारसंहिताविपरीत राज्यकोषबाट रु १६ करोडभन्दा बढी रकम दुरुपयोग तथा निजामती तथा प्रहरी प्रशासनको संरचनामा अनावश्यक भद्रगोल सिर्जना गरिएको एमालेको आरोप छ । नेपाल प्रहरीमा चार अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासन संरचनालाई भत्काउन खोजिएको भन्दै त्यस्ता काम रोक्न एमालेले आग्रह गरेको छ । कमिटीका प्रवक्ता विष्णु रिमालले विज्ञप्ति जारी गरी चुनावी सरकारको हैसियत र सीमाभित्र रही काम गर्नका लागि सरकारलाई सचेत गराउन आयोगसमक्ष माग गरेको राससले समाचार लेखेको छ ।