आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट खेलमा नेपालले मलेसियालाई जितका लागि १०९ रनको लक्ष्य

८ मंसिर २०७४, शुक्रबार ०४:५९

मंसिर ८, काठमाडौं । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको चौथो खेलमा नेपालले मलेसियालाई जितका लागि १०९ रनको लक्ष्य दिएको छ । नेपालले दिएको १०९ रनको लक्ष्यसहित मलेसियाले केहि बेरमा जवाफी ब्याटिङ्ग थाल्ने छ ।

थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले पुरै २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनाउन सफल भयो । नेपालको लागि ओपनरद्वय सिता राना मगर र ज्योति पाण्डेले उत्कृष्ट पारी खेलेका थिए । पहिलो विकेटका लागि सिता र ज्योतिले ६६ रनको साझेदारी गरिन् । पहिलो विकेटका रुपमा सिता ३७ रनमा आउट भईन भने ज्योति २१ रनमा आउट भइन् ।   सिता र ज्योति पेभेलियन फर्किएपछि आएका माध्यक्रमकी ब्याट्सवुमनले उलेख्य रन जोड्न नसक्दा नेपालले उच्च स्कोर बनाउन सकेन । नेपालकी इन्दु बर्मा ६ रनमा अविजित रहदा कप्तान रुबिना क्षेत्रि पनि २ रनमा नटआउट रहिन् । त्यसबाहेक नेपालकी काजल श्रेष्ठले १४ रन जोड्दा रोमा थापाले ६, नेरी थापा ५ रन बनाउदा रिता कुमारी कानुजिया १ रनमा पेभेलियन फर्किइन । मलेसियाकी नुर एरिना नट्सया र जन्नादिहा हालिमले समान दुई दुई विकेट लिईन ।  मलेसियासँगको खेलपछि नेपालले अन्तिम खेलमा आइतबार चीनसँग खेल्नेछ । नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा पुग्ने लक्ष्य लिएको नेपाललाई शिर्ष दुईमा पुग्ने सम्भावना कायम राख्न मलेसियाविरुद्ध जित्नैपर्ने दबाब रहेको छ ।

 

बिहीबार भएको खेलमा युएईसँग ५ रनले पराजित भएपछि नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बनेको थियो । अघिल्ला तीन खेलमा २ अंक जोडेको नेपालले आजको खेल गुमाए प्रतियोगिताबाट बाहिरिनेछ ।  राउण्ड रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफयर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।   छनोटमा नेपालको ३ खेलबाट २ रहेको छ । नेपाल अंक तालिकामा पाचौं स्थानमा छ । छनोटमा नेपालले हङकङ र थाइल्याण्डसँगको खेलमा एक एक अंक पाएको थियो ।   यस्तै तेस्रो खेलमा नेपाल पराजित युएईसँग पराजित भएको थियो ।

छनोटमा २ अंक जोडेको मलेसिया चौथो स्थानमा रहेको छ । छनोटमा थाइल्याण्ड र हङकङ समान ५ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । ४ अंक जोडेको युएई तेस्रो स्थानमा रहदा चीन अंकविहीन रहेर पुछारमा रहेको छ ।
फाइल तस्विर ः थाइल्याण्ड क्रिकेट एसोसिएसन