३२ वटै जिल्ला सदरमुकाममा निर्वाचन सामाग्री

कात्तिक २९, काठमाडौं । मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको चुनावका लागि आवश्यक सामाग्री सम्बन्धित ३२ वटै जिल्ला सदरमुकाममा पुर्‍याइसकिएको निर्वाचन आयोगले जनाएको छ।

विकट ठानिएका केही स्थानमा मतपत्र जस्ता संवेदनशील सामाग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएका छन्।
आयोगका अनुसार दोस्रो चरणको निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ।
आवश्यक ६४ देखि ६७ प्रकारका निर्वाचन सामाग्रीमध्ये केही स्थानीय तहमै खरिद गरिएको र मतपत्र जस्ता संवेदनशील मानिएका सामाग्री केन्द्रबाट पठाइसकिएको निर्वाचन आयोगका अधिकारीले बताएका छन्।

संवेदनशील
केही विकट हिमाली जिल्लामा संवेदनशील सामग्रीहरु हेलिकोप्टरबाट पठाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।  उनले भने, स्वस्तिक छाप, मसी, नङमा लगाउने मसी, स्ट्याम्प प्याड, मतपत्र, सीलहरु, छेकाबारा जस्ता संवेदनशील सामग्री जिल्ला पुगिसकेका छन्। दोस्रो चरणका सामाग्री भने लैजाने क्रममा छ।  पहिलो चरण अन्तर्गत ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्र अन्तर्गत ४५ सयभन्दा बढी मतदान केन्द्रमा मतदान हुनेछ।   मंसिर १० गते हुने सो निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा ९ जनासम्म कर्मचारी रहने बताइएको छ।    दुवै चरणमा गरी झण्डै सवा २ लाख निर्वाचन कर्मचारी खटिनेछन्।

व्यवस्थापन
तीमध्ये पहिलो चरणमा पर्ने विकट र हिँडेर पुग्नुपर्ने स्थानमा बुधवारबाटै कर्मचारी खटाउन लागिएको पनि आयोगका प्रवक्ता ढकालले बताए।   उनको भनाइ थियो, मतदान हुने भन्दा तीन दिन अगाडि मतदान अधिकारीहरु त्यहाँ पुग्ने गरी व्यवस्थापन गरिएको छ। उनीहरु मंसिर ७ गतेसम्ममा मतदानस्थल पुग्नेछन्। विकट स्थानमा हिँडेर पुग्नुपर्ने स्थानमा उनीहरु बुधवारबाटै हिँड्नेछन्।   मतदाता शिक्षा र मतदान परिचयपत्र समेत उनीहरुले वितरण गर्नेछन्।
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि चाहिँ मतपत्र छाप्ने काम अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।


प्रकाशित | २०७४ कार्तिक २९ प्रकाशित ०४:४५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ