हिंसात्मक घटना बढेपछि प्रमुख निर्वाचन आयुक्त रसुवामा

९ मंसिर २०७४, शनिबार ०३:१९

मंसिर ९, रसुवा । निर्वाचनको पूर्वसन्ध्यामा प्रहरीले फायर गरेपछि प्रमुख निर्वाचन आयुक्त आयोधिप्रसाद यादव रसुवा आएका छन् । जिल्लामा वाम गठबन्धन र लोकतान्त्रिकबीच झडप र आक्रमणका घटना बढेसँगै प्रमुख निर्वाचन आयुक्त यादव रसुवा आएका हुन् ।

शुक्रबार सेनाको हेलिकप्टरबाट सदरमुकाम धुन्चे आएका उनले जिल्लामा सुरक्षा व्यवस्था नियन्त्रणमा राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । राजनीतिक दलले मौन अवधी तथा निर्वाचन अवधिभर आचारसंहिताविपरीत कार्य गरेको पाएमा तत्काल कारबाही गर्न उनले निर्देशन दिए ।  आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको अन्तिम तयारी भैरहेको बेलामा असुरक्षा बढेको छ । दुबै गठबन्धन आक्रमक रुपमा प्रस्तुत हुन थालेपछि जिललामा सुरक्षा चुनौती थपिएको छ । जिल्लामा सुरक्षाकर्मी पर्याप्त रहेको बताइए पनि दैनिकजसो झडपको स्थिति आँउदासमेत प्रशासनले नियन्त्रण गर्न सकेका छैन ।

 

बिहिबार राती कालिका गाँउपालिका–२ चिउरीबोटमा नयाँ शक्ति र एमालेका कार्यकर्ताबीच भएको झडप नियन्त्रणमा लिन नसक्दा १३ राउण्ड हवाईफायर गरेको थियो ।  गाँउपालिकाको काभ्रेबाट चुनावी अभियान सरकाएर कालिकास्थान जाने क्रममा एमालेको गाडीमाथी आक्रमण गर्न खोज्दा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको बताए पनि लोकतान्त्रिक गठबन्धनले भने एमालेले गोली चलाउन खोज्दा झडपको स्थिति आएको बताएका छन् । घटनामा संग्लन भएका मध्ये दुई जना नियन्त्रणमा लिएको भए पनि यसबारे प्रहरी बोल्न चाहेको छैन् । शुक्रबार प्रमुख निर्वाचन आयुक्त रसुवा आउँदा जिल्ला सुरक्षा प्रमुख चिउरीबोट पुगेका थिए । सुरक्षा निकायको प्रमुख बाहिर रहेको अवस्थामा जिल्ला आएका आयुक्तले सुरक्षा निकायका सहायकसँग छलफल गरेर फर्किएका हुन् ।

 

साता जिल्लाभित्र करिब एक दर्जनभन्दा बढि घटना भए पनि घटना बाहिर ल्याएको छैन । जिललाको ग्रे, बुद्धिम, कालिकास्थान, राम्चे, स्याफ्रुलगायतका स्थानमा घटना बढेको छ । घटनामा संलग्न देखिएका माथी प्रहरीले कारबाही नगर्दा मतदाता त्रसित छन् । पार्वतीकुण्ड गाँउपालिका–२ ग्रेमा मोटरसाईकल पार्किङ गर्ने क्रममा लोकतात्रिक र वाम गठबन्धनका कार्यकर्ता झडपमा उत्रिदाँ तीनवटा बाइृक जलाइएको थियो ।

गोसाईकुण्ड गाँउपालिका–५ स्याफ्रुमा नेकपा एमाले रसुवाका अध्यक्ष तथा प्रदेशसभा १ का उम्मेद्वार कर्णेल लामाको घरमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले आक्रमण गरेका छन् । त्यसै गरी गोसाईकुण्ढ गाउँपालिकाको बुद्धिममा बिहिबार झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिउको छ । ३४ मतदान स्थल र ४५ ओटा मतदान केन्द्र रहेको रसुवामा एउटा अतिसंवेदनशील, २१ संवेदनशील र १२ वटा सामान्य छन् । –नागरिक दैनिक