हलमा ‘झयाँनाकुटी’ को चर्चा

३ मंसिर २०७४, आईतवार ०५:१९

मंसिर ३, काठमाडौं । नायिकाबाट फिल्म निर्माणमा आफ्नो भूमिका विस्तारित गर्दै गत शुक्रबारदेखि हलमा फिल्म ‘झयाँनाकुटी’ लिएर आएकी निशा अधिकारीलाई यति बेला हलहलमा दर्शक प्रतिक्रिया लिनमा भ्याईनभ्याई छ ।  शनिबार फिल्मले ठिकठाकको व्यापार गरेपछि उनी उत्साहित देखिएकी हुन् । अघिल्लो साता चार–चार फिल्म ‘तान्द्रो’, ‘मेला’, ‘रोमियो’ र ‘सकस’ एकसाथ रिलिज भए पनि कुनै पनि फिल्मले गतिलो दर्शक साथ पाउन सकेको थिएन । अझ ‘रोमियो’ मा त निशा आफैं खेलेकी थिइन् ।

सिमोस सुनुवारको निर्देशन रहेको ‘झयाँनाकुटी’ सामान्य झगडामा पत्निले घर छोडेर हिँडेपछि पतिले आफूले र नाबालाक छोरो स्याहार्नका लागि बेहोर्नुपरेको सास्ती र हैरानीलाई कमेडी शैलीमा पस्किइएको छ ।

सौगात मल्ल र बेनिशा हमालको मुख्य जोडी रहेको फिल्ममा सुमी मोक्तान, एस्टल गुरुङ लगायतको अभिनय रहेको छ । प्रमोद भारद्वाजको पटकथा रहेको फिल्मले ग्रामीण परिवेशमा वाचन गरेको कथालाई यति बेला दर्शकले रुचाइदिएपछि निर्माताका रूपमा सफल हुने छनकले निशा यति बेला दंग छिन् । नहुने कुरा पनि भएन ।  यसअघि उनकै सहकर्मी नायिकादेखि नायकसम्म निर्माणमा हात हालिरहँदा सफलता हात पार्न सकिरहेका छैनन् ।