सुरक्षा निकायका प्रमुख प्रतिनिधिसँग निर्वाचन आयोगले गर्‍यो छलफल

५ मंसिर २०७४, मंगलवार १२:३४

मंसिर ५, काठमाडौं । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारीका विषयमा निर्वाचन आयोगले सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

आयोगले मंगलबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिहरुसँग सुरक्षा रणनीतिकाबारेमा छलफल गरेको हो ।  निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारलाई लक्षित गरी गरिएका आक्रमण र विस्फोटकाबारेमासमेत चिन्ता व्यक्त गर्दै यस विषयमा सुरक्षा प्रमुखहरुसँग छलफल भएको निर्वाचन आयुक्त सुधीरकुमार शाहले बताए । निर्वाचन बिथोल्न खोज्ने र अराजक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्ने विषयमा सुरक्षा अंगका प्रमुखहरुसँग आयोगले आग्रह गरेको शाहले बताए ।

 

मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा भयरहित र सुरक्षितरुपमा ढुक्कसँग मतदान गर्नसकिने विषयमा सुरक्षा निकायका प्रमुखहरुले आश्वस्त तुलाएकोसमेत शाहले बताए । पहिलो चरणको निर्वाचनका लागि कर्मचारी खटाउने र मतदान सामग्री मतदान केन्द्रसम्म पुराउने कार्य भइरहेको उनले जानकारी दिए ।  ७ गतेभित्र सबै कर्मचारी मतदान केन्द्रसम्म पुग्ने र हिमाली भेगमा हुनसक्ने सम्भावित मौसमको प्रतिकूलता ख्याल गरी आयोगले व्यवस्थापकीय कार्य चुस्त बनाउने काम गरिरहेको आयुक्त शाहको भनाइ छ ।