सबभन्दा पुरानो पार्टी प्रजा परिषद र एमालेबीच एकीकरण

२४ कार्तिक २०७४, शुक्रबार ०२:००

कात्तिक २४, काठमाडौं । मुलुकको सबभन्दा पुरानो पार्टी नेपाल प्रजापरिषद् एमालेमा एकीकृत भएको छ । दुई पार्टीका अध्यक्षले बिहिबार चावहिलमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेर पार्टी एकीकरण गरेका हुन् ।

एमालेका अध्यक्ष ओली र प्रजापरिषद्का कार्यवाहक अध्यक्ष गोविन्दप्रसाद दुलालले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरण भएको घोषणा गरेको हो ।

शहीदको सपना पूरा गर्न र राष्ट्रियताको संरक्षण गरी लोकतन्त्रलाई बलियो बनाउन, स्वतन्त्रता र स्वाभिमानको अनुभूति गराई राष्ट्रको सर्वाङ्गीण विकास गर्नका लागि दुई पार्टीबीच एकीकरण गरिएको सहमतिपत्रमा उल्लेख गरिएको छ ।  कार्यक्रममा अध्यक्ष ओलीले विकास र समृद्धिका लागि एमालेबाहेक अरु कुनै पार्टी नभएको दाबी गरे ।   उनले एमालेसँग मुलुक समृद्ध बनाउने योजना र संकल्प रहेकाले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बहुमतसहित विजयी गराउन आग्रह गरे ।

कार्यक्रममा परिषद्का कार्यवाहक अध्यक्ष दुलालले एमालेले राष्ट्रप्रति देखाएको अडानका कारण आफूहरु समाहित भएको बताए । प्रजापरिषद् वि.सं. ‘१९९३ मा स्थापना भएको पुरानो पार्टी हो ।