संघीय संसद्को सभाहल माघअघि तयार नहुने

११ मंसिर २०७४, सोमबार ०१:२८

मंसिर ११, काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा भवन माघ अघि तयार नहुने भएको छ ।   संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाहल पुर्नसंरचनाका लागि सरकारसँग तीन करोड ५० लाख रुपैयाँ माग गरेको छ । सुरुमा प्रतिनिधिसभा बैठक बस्ने र राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै माथिल्लो सदनको भवन चाहिने भएकाले सचिवालय प्रतिनिधि सभाको तयारीलाई मुख्य प्राथमिकता दिएको छ ।

२१ मंसिरमा सम्पनन हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि अनितम मतपरिणाम सार्वजनिक हुन पुसको पहिलो सातासम्म लाग्न सक्ने आकलनसाथ सभाहल निर्माणअघि बढाइएको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । ‘अनितम परिणाम आएको मितिले समेत केही साता प्रतिनिधिसभाको बैठक बस्न नपर्ने संवैधानिक व्यवस्था भएकाले माघको तेस्रो सातादेखि बैठक बस्न सक्ने गरी भवन तयार पार्ने हाम्रो लक्ष्य छ । राष्ट्रिय सभाको निर्वाचन प्रतिनिधिसभाभन्दा पछाडि भएकाले राष्ट्रिय सभा बस्ने हल भने त्यसपछि मात्रै तयार हुनेछ,’ उनले भने ।

यसअघि संविधानसभाको दुई कार्यकाल र रुपान्तरित व्यवस्थापिका संसद् एक सदनात्मक भएकाले राष्ट्रिय सभा भवन निर्माण गर्न बढी खर्च लाग्ने प्रवक्ता गौतमको भनाइृ छ । ‘यसअघि व्यवस्थापिका संसद भउको हलमा प्रतिनिधिसभा राखिनेछ । ६०१ सदस्य संविधान सभालाई पुग्ने गरी राखिएको कुर्सी २७५ सदस्यीय प्रतिनिधिसभामा बढी हुने भएकाले केही कुर्सी हटाईनेछ र प्रतिनिधिसभा भवन तयार पारिनेछ । तर, राष्ट्रिय सभाको हल भने पुरै परिकल्पना गरेर बनाउनुपर्नेछ,’ उनले भने ।

संघीय संसद्को सभा कक्षमा यसअघिको भन्दा गुणस्तरिय माइकलगायत प्राविधिक संरचना जडन गरिनेछ । राष्ट्रिय सभा र प्रतिनिधिसभा हल निर्माणका लागि आफूहरुले अनुमानित तीन करोड ५० लाख रुपैयाँ बजेट माग गरेको प्रवक्ता गौतमले बताए । अर्थमन्त्रालयबाट बजेट निकासा हुनुअघि आफ्नै खर्चले प्रतिनिधिसभा हल पुर्नसंरचनाको काम अघि बढाउने सचिवालयको तयारी छ । –नयाँ पत्रिका