विवेकशील साझा पार्टीले चुनावी घोषणापत्र सार्वजनिक

२५ कार्तिक २०७४, शनिबार ०५:०६

कात्तिक २५, काठमाडौं । राष्ट्रिय पार्टी बन्ने संकल्पसहित रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पार्टीको आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको घोषणा पत्र सार्वजनिक गरिएको हो।  घोषणा पत्रमा नागरिकको दुःख निवारण, न्याय, सुरक्षा र सम्मानजनक स्थिति स्थापित गर्ने लक्ष्य हाँसिल गर्न राज्य स्थिर, चुस्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।   जनतालाई सुखी र खुशी बनाउन विवेकशील साझा पार्टी लागि पर्ने पनि प्रतिबद्धता पनि व्यक्त गरिएको छ।  कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक मिश्रले आफ्नो पार्टी मुलुकको आशा र भरोसा भएको दावी गरे।   काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका संयोजक मिश्रले मुलुकलाई समृद्ध बनाउनुको अर्थ जनतालाई सुखी बनाउनु रहेको स्पष्ट पारे।

 

घोषणा पत्रमा समावेशी लोकतन्त्र, पारदर्शी अर्थतन्त्र निर्माण गर्न लागि पर्ने पनि उल्लेख गरिएको छ।   विवेकशीलले घोषणापत्रमा स्थिर सरकारका लागि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री उपयुक्त हुने समेत बताएको छ।   घोषणा पत्रमा भनिएको छ, वेस्टमिन्स्टर मोडेलको संसदीय प्रणालीले अस्थिर सरकार, अप्राकृतिक सत्ता समीकरण लगायतका विकृति निम्त्याएको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको शासकीय स्वरुप उपयुक्त हुने पार्टीको ठहर छ।’