विदेशी लगानीको पहिलो पाँचतारे रिसोर्ट सञ्चालनमा

१४ मंसिर २०७४, बिहीबार ०२:५९

मंसिर १४, नेपालमा विदेशी लगानी स्थापना भएको पहिलो पाँचतारे रिसोर्ट सञ्चालनमा आएको छ । यो रिसोर्ट राजधानी बाहिरकै पहिलो पाँचतारे रिसोर्ट समेत हो ।

मुलुकको पर्यटन उद्योगले विस्तारै गति लिइरहेको बेला ५ करोड २० लाख अमेरिकी डलर (५ अर्व २० करोड रुपैयाँ) बराबरको विदेशी लगानीमा रुपन्देही तिलोत्तम नगरपालिका–१७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट सञ्चालनमा आएको हो । यो रिसोर्ट बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्र्तगतको पर्यटन विभागले पाँचतारे स्तरको प्रमाण्पत्र प्रदान गरेको छ ।

अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्व २० करोड रुपैयाँ लगानीमा निर्माण भएको रिसोर्ट ‘सफ्ट ओपनिङ’ भएको हो । रिसोर्टको नाम ‘टाइगर प्यालेस रिसोर्ट’ राखिएको छ । पहिलो चरणमा १ सय कोठा सञ्चालनमा ल्याएको छ भने दोस्रो चरणमा थप ३ सय कोठा पाहुनाका लागि तयार हुने तथा सबै कोठा ‘डिलक्स’ हुने रिसोर्ट सञ्चालकले जानकारी दिएका छन् ।

‘विनाशकारी भूकम्पपछि पर्यटन उद्योगले ठूलो क्षति बेहो¥यो र विस्तारै अगाडी बढिरहेको छ । पर्यटन उद्योगमार्फत अर्थतन्त्रमा थप योगदान दिनुपर्छ भनेर रिसोर्ट सञ्चालनमा ल्याएका हौं’ उक्त ग्रुपको नेपाल स्थित आधिकारिक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रा.लिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईले बताए ।   बजगाईका अनुसार त्यस रिसोर्टमा तत्काल करिब ३ सय जनाले रोजगारी पाएका छन् । तिनमा अधिकंश स्थानीय र अनुभव नभएकालाई प्राथमिकता दिएर तालिम दिलाएर दक्ष बनाएपछि रोजगारी दिइएका छन् । रिसोर्टको म्यानेजर तहमा ५० जना विदेशीले काम गर्नेछन्् भने बाँकी सबै नेपाली र त्यसमा पनि स्थानीय हुनेछन् ।