लुम्बिनीको एकीकृत पर्यटन उत्थानमा जोड

५ मंसिर २०७४, मंगलवार ०४:३४

मङ्सिर ५ भैरहवा। आर्थिक समृद्धिको मुख्य आधार लुम्बिनीको एकीकृत पर्यटन विकास नै भएकाले सोही अनुसार दीर्घकालीन सोच राखेर नीति निर्माण र योजना बनाउनुपर्नेमा पर्यटनविज्ञले जोड दिएका छन् । उनीहरूले बुद्ध जन्मस्थल लुम्बिनीको गुरुयोजना छिटो पूरा गरी लुम्बिनीलाई विश्व शान्ति सहरका रूपमा विकास गर्न सके यसबाट रूपन्देहीको मात्र नभई समग्र देशकै आर्थिक समृद्धिमा योगदान पु¥याउन सकिने बताएका छन् ।

उद्योग व्यापार सङ्गठन रूपन्देहीले भैरहवाको अञ्चलपुरमा सञ्चालन गरेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत सोमबार आयोजना गरेको पर्यटनसम्बन्धी अन्तक्र्रियामा सहभागी पर्यटन क्षेत्रका सरोकारवालाले यस्तो बताएका हुन् । उनीहरूले पर्यटकलाई आकर्षित गर्ने पर्यटकीय पूर्वाधार सिद्धार्थनगर नगरपालिकाभित्र केही पनि नभएको गुनासो गर्दै बनाउन सरकारी निकायसँग माग पनि गरेका छन् । साथै उनीहरूले विदेशी पर्यटकलाई नेपाल आउँदा खानेकुरा र खाना पकाउने ग्यास समेत ल्याउन पाउने प्रावधानमा प्रतिवन्ध लगाई भिसा नीतिमा परिवर्तन गरी फ्रि भिसामा आउनेलाई एक रात अनिवार्य बास बस्नुपर्ने नियम बनाउन माग गरे ।अन्तरक्रिया बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले सिद्धार्थनगरको मात्र नभई देशकै आर्थिक समृद्धि र विकासको मुख्य आधार पर्यटन नै भएको स्वीकार गर्दै आफूले नगरपालिकाको विकास गर्न पर्यटनलाई प्राथमिकतामा राखेको बताए । पर्यटन, उद्योग, शिक्षा र स्वास्थ्य गरी चारवटा विषयलाई नगरपालिकाले प्राथमिकतामा राखेर पनि यिनको विकासका लागि एसियाली विकास बैङ्कसँग पनि कुराकानी भइरहेको छ, अधिकारीले भन्नुभयो, तर तुलनात्मक हिसाबले बढी लाभ लिन सकिने र धेरै गर्न सकिने क्षेत्र पर्यटन नै हो ।

 

नगर प्रमुख अधिकारीले सिद्धार्थनगरको पर्यटन विकासका लागि भगवान गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने कुरा झल्काउने गरी बेलहियामा आकर्षक प्रवेशद्वार बनाउने, सिद्धार्थ बसपार्कमा बुद्धको सवा सय फिट अग्लो बुद्ध मुर्ति बनाउने र डण्डा नदीमा ‘वाटर टुरिज्म’को विकास गर्न नियमित डुङ्गा सयर गराउने अवधारणासहित योजना आफूले अघि सारेको र तीन करोडभन्दा बढी बजेट लाग्ने अनुमान गरिएको जानकारी गराए । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले विदेशी पर्यटक भित्र्याउन पर्यटन व्यवसायी र सरकारी निकायले विदेशमा मार्केटिङ गर्नुपर्नेमा जोड दिनुभयो । भारतीय पर्यटन व्यवसायीको मात्रै भर परेर नहुने भन्दै उनले पर्याप्त पर्यटकीय पूर्वाधार बनाउन पनि सुझाव दिए । उनले लुम्बिनीका स्थानीय बासिन्दा र नेतृत्वले लुम्बिनी विकास कोष र लुम्बिनीको पर्यटन विकासमा अपनत्व महसुस गर्न नसक्दा पनि यस क्षेत्रको पर्यटन विकासमा समस्या भएको गुनासो गरे ।   मेलाका पर्यटन प्रवद्र्धन उपसमिति संयोजक एवं पर्यटन व्यवसायी सञ्जय बजिमयले पर्यटनको विकासका लागि बन्द हड्ताल सधैका लागि निषेध हुनुपर्नेमा जोड दिँदै लुम्बिनी विकास कोषमा हुँदै आएको राजनीतिक नियुक्ति बन्द गरी स्थानीय विज्ञ व्यक्तिलाई नियुक्त गर्नुपर्नेमा जोड दिए। बेलहिया नाका र अध्यागमन कार्यालयलाई व्यवस्थित गरी पर्यटकलाई नेपाल प्रवेश गरेको र बुद्ध जन्मस्थल नेपालको लुम्बिनी जाँदैछौं भन्ने जानकारी÷अनुभूति गराउनुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा पर्यटन कार्यालय रूपन्देहीका प्रमुख खेम थापाले अन्तर्राष्ट्रिय पर्यटकीय स्थल र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीका कारण रूपन्देही र त्यसमा पनि सिद्धार्थनगरमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको प्रष्टाए ।  पर्यटनविद् डा। गितु गिरीले लुम्बिनी गुरुयोजना यथासक्य छिटो पूरा गरी लुम्बिनी र यससँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामको एकीकृत पर्यटन विकासका लागि बनेका योजना कार्यान्वयनमा सामूहिक दबाब दिनुपर्ने औँल्याए ।  पर्यटन व्यवसायी रवि शर्माले बेलहिया नाकाबाट दैनिक सरदर ५० वटा बसमा भारतीय र श्रीलङ्कन पर्यटक आउने गरे पनि उनीहरूले आफूले उपभोग गर्ने खानेकुरा र खाना पकाउने ग्यास सिलिन्डरसमेत बोकेर आउँदा नेपाली पर्यटन व्यवसायीलाई कुनै फाइदा नै नभएको गुनासो गर्दै सामान ल्याउन नपाइने नीति बनाउन माग गरे । पर्यटन व्यवसायी एवं सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले देश विकासको मुख्य आधार पर्यटन नै भए पनि सरकारी ढिलासुस्ती र पर्यटनमैत्री नीतिको अभावमा पर्यटन विकास हुन नसकेको गुनासो गरे ।