युवा सामथ्र्यको सदुपयोग – रमेश शुभेच्छु

७ मंसिर २०७४, बिहीबार ०६:३९

“बेलैमा नसोचिए आजको युवा पुस्ता फेसबुक र युटुब हेर्दैमा बूढो हुनेछ ।”

 

युवा कुनै पनि परिवार, समाज र देशका मेरुदण्ड हुन् । युवाभित्र अनन्त सम्भावना हुन्छ । त्यस सम्भावनालाई चिन्ने परिवार, समाज र देशलाई उन्नति गर्न समय लाग्दैन । नचिन्नेहरु सधैँ पछाडिको पछाडि नै रहन्छन् । हाम्रो समाज धनात्मक युवा वर्गलाई नचिनेर र उपयुक्त जिम्मेवारी नदिएर धेरै पछाडि परिरहेको छ । अब युवा सामथ्र्यलाई सुझबुझका साथ लिनु र युवालाई जिम्मेवार बनाउनु आवश्यक छ ।    युवा उर्जा मानव विकासका चरणहरुमध्ये शक्तिशाली उर्जा हो । युवाहरू स्वभावैले विद्रोही, क्रान्तिकारी, सहासी, द्रूत निर्णयी र परिवर्तनका आकांक्षी हुन्छन् । संसारको इतिहासमा नयाँ मोड प्रदान गर्नेहरुका सूचिमा युवा नेतृत्व फलदायी देखिन्छ । विश्वमा ऐतिहासिक युव निर्माणका महत्वपूर्ण कार्य युवाहरूले नै सम्पन्न गरेका उदहारण हजारौँ जुटाउन सकिन्छ । सुरक्षा, प्रशासन, खेलकुद, मनोरञ्जन मात्र नभई कला, साहित्य, संगीत, राजनीति, अर्थनीति, नैतिकता आदिमा पनि युवाहरु अग्रगन्य छन् । युवा उर्जा र सामथ्र्यलाई बुझेकै कारण, सुरक्षा, प्रशासन, निजामति, शिक्षण, प्राध्यापनलगायतका पेसाहरूमा युवा उमेरका उमेद्वार चुनिन्छ । त्यहाँ मानिसको उमेर ढल्कँदै गएपछि कामबाट अवकास लिने प्रावधान राखिएको हुन्छ । यसको अर्थ अब उसको उर्वर समय र निर्णय क्षमता कमजोर हुँदै जान्छ भन्ने हो । राजाको छोरा राजा बन्ने परम्परामा पनि पौराणिक कालदेखि इतिहाससम्म हेर्दा धेरै राजाले बुढो भएपछि उत्तराधिकारीलाई राज्य सुम्पिएर आफूले अवकास जीवन विताउने गरेको, राजर्षिका रुपमा समाज कल्याणको काम गरेको देखिन्छ । हाम्रो समाजमा यस्तो चिन्तन विकास हुन सकेको छैन । यस प्रचलनले युवालाई जिम्मेवार हुन दिएको छैन ।

“विदेसका दास बन्न आतुर छन् कि वगैँचामा विपरीत लिङ्गीहरुसँग समय विताउँछन् । ड्रग्सको सेवन गर्न र आफैलाई सिध्याउन देखि अपराधिक गतिविधिको चञ्चा बन्नमै व्यस्त छन् । यो सामाजिक दुर्भाग्य हो । ”

अर्धविकसित, अल्पविकसित र अविकसित समाजको बागडोर राजनीतिसँग हुन्छ । हाम्रो समाज पनि यिनै तिन गहका वर्गीकरणभित्र पर्दछ । यस समाजकमा विकसित वा चेतनशील मानिसहरु राजनीतिमा चासो राख्छन् । हाम्रो राजनितिमा भने व्यक्ति मर्ने समयसम्म कुर्सीमै टाँसिइरहन र सक्रिय राजनीति गरिरहन चाहन्छ । उमेर ढल्किएपछिको अधिकांश समय व्यक्तिको आफ्नै स्वास्थ्यको हेरचाह र शारीरिक समस्याहरूको समाधान गर्दै बित्ने गर्छ । त्यस्तो व्यक्तिबाट समाज र राष्ट्रले धेरै केही पाउन सक्तैन र अपेक्षा पनि गर्नु हुँदैन । हाम्रो राजनैतिक परम्पराले भने सिर्जनशील उमेर नबितेसम्म व्यक्तिलाई नेतृत्वमा पुग्नै दिएको छैन । एउटा साधारण दर्ता चलानी गर्ने कर्मचारीलाई पनि ५८ वर्षको अवकास योजना राखिएको निजामती कानुन भएको देशमा राजनीतिक नेतृत्व भने कुर्सीमै टाँसिएर मर्न र लासमा पनि राज्यको शानदार सलामि चढाउन चाहन्छ । यी सोच, चिन्तन, अभ्यास सबै नेपाली समाजका लागि घातक छन् । यसतर्फ युवा पुस्ता स्वयम् सचेत बनी सामाजिक बागडोर लिन तयार बन्नु पर्ने देखिन्छ । युवामा व्यवहारिक, नैतिक, जिम्मेवार र वफादार बनाउन पनि आवश्यक छ । बेलैमा नसोचिए आजको युवा पुस्ता फेसबुक र युटुब हेर्दैमा बूढो हुनेछ ।    हाम्रा इतिहासमा पृथ्वीनारायण शाह नेपाल एकीकरणका बेला जम्मा २५ वर्षका ठिटा थिए । मोतीराम भट्टको जम्मा आयु २९ वर्ष मात्र थियो । हाम्रै इतिहासमा र विश्व इतिहासमा यस्ता उदाहरण थुप्रै भेटिन्छन् । समकालीन विश्वलाई हेर्दा भर्खरै क्यानडामा जस्टिन थु्रडो प्रधानमन्त्री पदमा चुनाव जितेर आए । उनी ४२ वर्षीय युवा हुन् । केही महिनाअगाडि फ्रान्समा इमानुयल म्याक्रोनले राष्ट्रपति पदमा अभूतपूर्व जीत हासिल गरे । उनी पनि ३९ वर्षीय युवा नेता हुन् । भर्खरै अस्ट्रियामा सेवेस्टियन क्रुज नाउँका एक ३१ वर्षीय युवाले चान्सलरको चुनाव जितेर जिम्मेवारी सम्हाले । आजका विज्ञान प्रविधिका आविस्कारसँग जोडिएका युवा वैज्ञानिक, विशिष्ट ग्रन्थका सर्जक युवा लेखकको लामै सूची बनाउन सकिन्छ । युवा पत्रकारहरुका सक्रियतामै विश्वको पत्रकारिता टिकिरहेको छ । युवा अध्यताहरुका अध्ययनबाट नयाँ नयाँ ज्ञान विज्ञानको प्राप्ती भइराखेको छ तर नेपालमा युवाहरुप्रति विश्वासै छैन । युवाहरु पनि जिम्मेवार बन्न सकिरहेका छैनन् । कि विदेसका दास बन्न आतुर छन् कि वगैँचामा विपरीत लिङ्गीहरुसँग समय विताउँछन् । ड्रग्सको सेवन गर्न र आफैलाई सिध्याउन देखि अपराधिक गतिविधिको चञ्चा बन्नमै व्यस्त छन् । यो सामाजिक दुर्भाग्य हो । राष्ट्रिय दुर्भाग्य हो । युवा काँध सवल नभएको देशले उन्नति गर्न सक्तैन । चिन, जापान, रुस र अमेरिकाहरु धनात्मक युवाजनशक्तिलाई राष्ट्र निर्माणमा लगाएर नै अगाडि बढेका हुन् । आजका नेपाली युवाका रोजगारी गन्तव्य मानिएका कोरिया, साउदी अरेविया, दुवई, ओमन जस्ता मुलुकले पनि विदेशी युवा जनशक्तिलाई हात लिएर मात्र उन्नति गर्न सकेका छन् । हामीले यो कुरा थाहा पाउन ढिला भइसकेको छ ।

“नेपालले पाएको धनात्मक युवा जनशक्ति निकम्मा रहेरै बूढो हुँदैछ

र भोलिको ऋणात्मक युवाशक्तिले त्यसलाई पाल्न धौधौ पर्ने छ ।”

यहाँ युवा सक्रियताका बहुमुखी पक्ष समेट्न नसकिएला ? सामाजिक बाग्डोर राजनीतिसँग छ भन्ने सूत्रका आधारमा मात्र हेर्दा युवा कहाँ छन् ? खोइ कुन पार्टीमा ४० वर्षमुनिका विकासप्रेमी र प्रतिभाशाली युवा नेताहरूलाई निर्णायक नेतृत्व तहमा पुग्न सके ? खोई राजनीतिक विरासत पाएर बेलैमा जिम्मेवारी पाएका केही नेताले पाएको विरासत भन्दा नयाँ आविस्कार र समाजग्राह्य सामथ्र्य के देखाउन सके । कुन पाटीले कुन युवा नेतालाई जिम्मेवार बनायो । विद्यार्थी राजनीतिमै ५० वर्ष बिताउनुपर्ने नियतिले कहिले मुक्ति पाउने । यहाँ क्षमतावान युवा नेताले पनि जिम्मेवारी पाउन बूढेसकाल नै कुर्नुपर्ने हुन्छ । कति राम्रा युवाहरुलाई धर्म परिवर्तन, पाटी परिवर्तन, जात परिवर्तन गराएर र नागरिकतै परिवर्तन गराएर लोभीपापीहरुले वर्वाद गरिरहेका छन् । यस मारमा युवतीहरुको संख्या नराम्रोसँग फसेको छ ।
युवा मनोविज्ञान र जोस जाँगर अमेरिका युरोप होस् वा नेपाल जहाँ पनि उही हो । जीव विकासले यसलाई फरक देखाउँदैन । के नेपाली युवा मात्रै भिन्न क्यामेस्ट्रीले बनेका हुन् र ? यहाँका युवाहरूमा जोस, जाँगर, स्वास्थ्य, ऊर्जा, सीप, क्षमता दक्षता हुनु पर्नेमा खोई त्यो भएको , युा आफै युवा जस्तो बन्नु पर्यो र र समाजबाट कदर पनि लिन सक्नु पर्यो । एकातिर सिक्न तथा गर्न चाहने इच्छा पनि मर्दो अवस्थामा देखिन थालेको छ भने अर्कातिर नयाँ प्रविधिमैत्री तथा सिर्जनात्मक युग आएर पनि त्यसलाई युवाले सम्हाल्न सकिरहेको अवस्था छैन । पाउन त नेपाली समाजले छिमेकी मुलुकले शताब्दी लाएर आर्जन गरेको प्रविधि र कानुनी अधिकारहरु एकैचोटि पाएको छ तर त्यसको सदुपयोग गर्दै व्यक्तित्व विकास र समाजिक उन्नति गर्न सकिएको छैन । युवा पुस्ताले यसको महत्व नै बुझ्न सकेको छैन । अवसर र प्राप्तिको सदुपयोगका लागि कानुन बनेर मात्र हुँदैन । अहिले नेपालको कानुनका अधिकांश धाराहरु लागू हुन सकेका छैनन् र युवा पुस्ताबाटै तिनको दुरुपयोग भएको छ । युवा पुस्तामा मौलाउँदो छोडपत्र, गर्भपतन, यौन स्वतन्त्रता, लागू पदार्थ सेवन आदि समाजको विकास भन्दा विनासका पक्षमा छन् । यद्यपि सक्षम नेतृत्व विकासका लागि र युवा उर्जाको उपयोग हुन सक्नु पर्छ । राष्ट्रिय उत्थानमा युवा उर्जाको उपयोगका लागि महिलालाई संविधानमा ३३ प्रतिशत आरक्षण गरिएजस्तै राजनीतिलगायत सबै क्षत्रमा युवाहरूलाई ५० प्रतिशत त्यो नभए पनि निश्चित प्रतिशत तोकेरै हरेक स्थानमा समावेश गर्न आवश्यक छ । नत्र नेपालले पाएको धनात्मक युवा जनशक्ति निकम्मा रहेरै बूढो हुँदैछ र भोलिको ऋणात्मक युवाशक्तिले त्यसलाई पाल्न धौधौ पर्ने छ । विज्ञहरुबाट युवालाई समावेश गर्ने संविधान संशोधनका लागि पहल गर्न ढिला भइसकेको छ । जातजाति र क्षेत्रभन्दा ठूलो सामथ्र्य युवा सामथ्र्य हो र यो सामथ्र्य संविधानले गरेका उक्त निर्णयसँग संयोजित पनि हुन सक्छ ।

“सगरमाथाका काखमा जन्मने खप्परमा विदेसी पलास्टिकको नाम्लो र सिमन्टको बोरा झन् दुर्भाग्य हो ।

बुद्धका देशका सन्तानलाई लाहुरेका नामको बन्दुक अर्को दुर्भाग्य हो । ”

 

नेपाली समाजमा युवालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ । युवाका हातमा योग्यता क्षमता अनुसारका कोदाली, ट्याक्टर, डोजर, हँसिुया , हथौडा, कलम, कम्प्युटर, सवारी स्टेयरिड, उद्योगधन्दाको तालाचावी आदि थमाउन सके नेपालको मुहार फेरिन पाँच वर्ष पनि लाग्दैन । हरेक युवाहरु गरिखान चाहेका छन् र त्यो नपाएर पलायन भएका छन् । हरेक युवाले रोजगारी चाहेका छन् र त्यही नपाएर विद्रोहको र अपराधको बन्दुक समाउन विवश छन् । आफ्नै बाका बारीमा केही महिना यसो चार घन्टा काम गर्दा वर्षभरि खान पुग्ने देशका युवा विदेशमा गएर अठार घन्टे ढोके, पाले, कुचीकार, चर्मकार, मंशकार(बगरे), गोपक, अजक, उष्णक, धोवी, लोहकार आदि भएर जीवन विताएको पटक्कै सुहाएको छैन । सगरमाथाका काखमा जन्मने खप्परमा विदेसी पलास्टिकको नाम्लो र सिमन्टको बोरा झन् दुर्भाग्य हो । बुद्धका देशका सन्तानलाई लाहुरेका नामको बन्दुक अर्को दुर्भाग्य हो । आफ्नै बारीका विरुवा सह्यारेर दुई छाक मानाको भात खान पुग्ने जन्मभूमि छोडेर पाउरोटीका भरमा गर्नुपर्ने मरुभूमि स्यार अर्को दुर्भाग्य । सुकिला जलासयको पानी पिएर रगत बढेको ज्यानलाई नुनिला समुद्रमा नौका ख्याउने सास्ती अर्को दुर्भाग्य । स्वाधीन मुलुकका अनेक अवसर छाडेर दोस्रो वा तेस्रो दर्जाको नागरिकका रुपमा डाइमर्सिटी भिसा लिएर कसैको भीरपाखो बिराइदिनु अर्को दुर्भाग्य । यी सारा दुर्भाग्यको शिकार युवापुस्ता बनिरहेको छ  आज वैदेशिक शिक्षाका नाममा हामी हाम्रा छोराछोरीलाई विदेसी दास बनाइरहेका छौँ । विश्वका कुनै पनि विश्वविद्यालयले आफ्नो जनशक्तिलाई देश विरोधी हुन दिँदैनन् ।

‘सचेत अभिभावकले छोरो वा छोरी जे भए पनि एक सन्तानको अघोषित नियम लागू गरिसकेका छन्,

यो ऋणात्मक जनशक्तिको संकेत हो । ’

 

हाम्रामा मानविकी जस्ता शिक्षा संकाय मासिँदै जान्छन् र नेपाल परिचय, नैतिक शिक्षा र संस्कृत शिक्षाका विषयहरु नै मासिँदै जान्छन् । यस्ता कर्ममा कुनै स्वदेशी अनुहारको विदेशी एजेन्टको हात भए अब त हामीले नै थाहा पाइसक्नु पर्ने हो । विद्यालयबाट नैतिक शिक्षा र महाविद्यालयबाट नेपालविद्या (नेपाल परिचय) हटाएपछि अरुको दास हुन हाम्रा सन्तानलाई कुन अनौठो भयो ? नेपालमा जन्मिएको युवालाई नेपाली भाषासाहित्य र मातृभाषा साहित्य पढ्दा लाज हुन्छ । इतिहास र संस्कृतिको डिग्री लियो भने बेरोजगार भइन्छ । भूगोल पढ्यो भने निकम्मा भइन्छ । आज जसरी नै अर्ध ज्ञान र सीपशून्य युवालाई विदेस पलायन हुन दिइरहने हो भने आजको प्रौढ पुस्ता पनि तिनिहरुसँगै दासी हुँदै जाँदैछ । दिसापिसाब स्याहार्दा स्याहार्दा हुर्काएको छोराछोरी विदेसिन्छ । विदेसिएको छोराछोरीले छोराछोरी पाएपछि फेरि भिसा पठाएर पछिल्लो पुस्ताको दिसापिसाब स्याहार्न अघिल्लो पुस्तालाई विदेशमै निम्ता गर्छ । सारा शरीरको उर्जा सकिएपछि बल्ल पहिलो पुस्ता आफ्नो दिसापिसाब स्याहार्न नसकेपछि जन्मभूमि फर्किएर यही भूमिलाई सरापेर बस्छ । तेस्रो पुस्ताले नेपमाल कुन चराको नाम हो थाहा पनि पाउँदैन । एउटा पुस्ता आफ्नै सन्तान दरसन्तानको दिसापिसाब स्याहारेर बुढो हुँदैछ , अर्को पुस्ता पराइको दिसापिसाब स्याहारेर र आफ्ना सन्तानलाई विदेशीको दासीका रुपमा तयार पारिदिएर बुढो हुँदैछ भने भोलिको पुस्ता अघिल्लो पुस्ताको दिसापिसाव स्याहार्न नै तयार हुँदैछ । तीन तीन पुस्ताले गरेको गल्ती सम्हाल्न उसलाई कठिन हुने छ । यस्तो सन्दर्भमा खोई युवा जोस जाँगरको र अन्य पुस्ताको सामाजिक योगदान र राष्ट्रिय योगदान ? बाबुको बारीमा अन्न फल्थ्यो अरे भनेर फर्किएर जाँदा वनमारा र भूमाफियाले छोपिसकेका हुन्छन् ।     युवा कमजोर हुन्छन् र जिम्मेवारी बहन गर्न सक्तैनन् भन्ने युवाविरोधी मनोवृत्ति हो । यस्तो मनोवृत्तिले क्रमश हामीलाई पछाडि धकेलिरहेको छ । युवा मानसिकता र जोस जाँगरमा पनि ह्रास आएको छ । अब हिजो जस्तो साहिँलो काहिँलो अन्तरे जन्तरे सन्तान जन्मने छैन । र जन्मिएको सन्तानको संख्या पनि क्रमश दुई बाट एक हुँदैछ । सचेत अभिभावकले छोरो वा छोरी जे भए पनि एक सन्तानको अघोषित नियम लागू गरिसकेका छन् । यो ऋणात्मक जनशक्तिको संकेत हो । आजको युवा पुस्ताले त्यो ऋणात्मक जनशक्तिका लागि पनि केही सोच्नुपर्ने बेला आइसकेको छ । युवा आफै जिम्मेवार बन्न र युवालाई जिम्मेवारी दिन कति कन्जुस्याईँ गर्ने ? यता बाबुको बारी पनि बाँझिने र उता अर्काको चाकरी गर्न पनि नपाइने दिन आउँदैछन् । युवा सामथ्र्यको सदुपयोग गर्न ढिला भइसकोको छ ।

वानेश्वर क्याम्पस, काठमाडौँ

rshubechchhu11@gmail.com  

सहकार्य मासिक, वर्ष १ अंक २