मनोनयन गरेका उम्मेदवारको दाबी विरोध आज, १९ गते अन्तिम नामावली प्रकाशन

१७ कार्तिक २०७४, शुक्रबार ०६:५२

बात्तिक १७, काठमाडौं । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दिएकाको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगका अनुसार उम्मेदवार विरुद्ध आज दाबी विरोध गर्न सकिने हो । आज परेको दाबी विरोधमा आयोगले भोलि छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने छ ।

आयोगलले १९ गते अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिन्ह दिने तयारी गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए । मंसिर २१ गते हुने दोस्रो चरण चुनावका लागि झण्डै ५ हजार जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभाको १२८ निर्वाचन क्षेत्रमा १ हजार ७ सय ४२ र प्रदेशसभाको २५६ क्षेत्रमा २ हजार ९ सय ६६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यस्तै आयोगका अनुसार प्रतिनिधिसभातर्फ १ सय २६ र प्रदेशसभातर्फ २ सय ९ गरी जम्मा ३ सय ३४ महिला उम्मेदवार छन् । आयोगका अनुसार यो संख्यामा सामान्य हेरफेर हुन सक्नेछ ।

आयोगले शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको भन्दै आचारसंहिता पालनामा थप सजग हुन पनि सबै दल र उम्मेद्वारलाई आग्रह गरेको छ ।