मतपेटिकामा ३६ महिला उम्मेदवारको भाग्य

११ मंसिर २०७४, सोमबार ०४:२९

मङ्सिर ११, काठमाडौँ । पहिलो चरणको निर्वाचन अन्तर्गत आइतवार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ३६ महिला उम्मेदवारको भाग्य मतपेटिकामा संरक्षित भएको छ ।

३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभा सदस्यतर्फ ७४ स्थानका लागि भएको निर्वाचनमा विभिन्न दलबाट ७०२ जना प्रतिस्पर्धामा रहेकोमा ३६ जना महिला प्रतिस्पर्धामा छन् । ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबाट जम्मा नौ जना मात्रै महिला प्रतिस्पर्धामा छन् ।    निर्वाचन आयोगका अनुसार पहिलो चरणमा प्रतिनिधि सभा सदस्यतर्फ १६ महिला चुनावी प्रतिस्पर्धामा भएकोमा ठूला दलबाट तीन महिला मात्र चुनावी मैदानमा छन् । त्यसैगरी प्रदेश सभा सदस्यतर्फ २० जना महिला चुनावी प्रतिस्पर्धामा रहेकोमा छ जना महिला ठूला दलको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा छन।    पहिलो चरणको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि ३१ लाख ९१ हजार ९४५ मतदाता थिए । आइतबार बिहान ७ बजेदेखि सुरु भएको पहिलो चरणको निर्वाचनमा मतदाता त्रास र चिसो मौसमको पर्वाह नगरी मतदान केन्द्रमा लाम लागी मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

महिलाद्वारा मतदान केन्द्र व्यवस्थापन
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पहिलो चरणअन्तर्गत आइतवार भएको निर्वाचनमा दुईवटा निर्वाचन केन्द्रमा मतदान गराउने कर्मचारी महिला मात्रै खटिएका थिए । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित रसुवा मावि धुन्चे मतदान केन्द्र र पाँचथर जिल्लाको फिदिम नगरपालिका–३ सुम्निमाका दुईवटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारी सुरक्षाकर्मीसम्म महिला खटाइएको हो ।    रसुवाको मावि धुन्चे मतदान केन्द्रमा सुरक्षाकर्मी बाहेक मतदान अधिकृतदेखि कर्मचारी महिला मात्रै खटाइएको थियो भने पाँचथरको सुम्निमाका दुई मतदान केन्द्रमा भने सुरक्षाकर्मीसहित सबै महिलाकै नेतृत्वमा निर्वाचन सञ्चालन गरिएको छ ।    निर्वाचन आयोगले भने महिलाको नेतृत्वमा कतिवटा मतदान केन्द्र छन् भन्ने अहिलेसम्म आधिकारिक जानकारी नआएको जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचनको सबै जिम्मा जिल्ला निर्वाचन अधिकृतलाई दिइएको हुनाले उहाँहरूकै जिम्मा जिल्लाभरका सबै केन्द्र सञ्चालन गर्ने भएकाले पनि महिलाको नेतृत्वमा कति केन्द्र सञ्चालन छन् भन्ने अहिलेसम्म जानकारी नभएको स्पष्ट पारे ।
आयोगका अनुसार पहिलो चरणको निर्वाचनका लागि दुई हजार ९१९ निर्वाचन स्थल र चार हजार ४६५ निर्वाचन केन्द्र तोकिएको छ ।