मतदाता शिक्षा प्रभावहीन, बदर मतको संख्या बढ्न सक्ने

४ मंसिर २०७४, सोमबार ०१:४१

मंसिर ४, काठमाडौं । निर्वाचन आयोगले कराडौं रुपियाँ खर्च गरे पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको पाइएको छ । मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधसभाका लागि आयोगले कात्तिक २५ गतेबाट मतदाता कार्यक्रम सञ्चालन गरेको थियो ।

जिल्ला स्थित सदरमुकाममा मतदाता शिक्षासम्बन्धी एकाध कार्यक्रम गरिए पनि जनतामाझ अहिलेसम्म मतदाता शिक्षा पुग्न सकिरहेको छैन । मंसिर १० गतेको निर्वाचन नजिकिदैँ गर्दा विकट पहाडी र हिमाली भेगमा मात्र नभई जिल्लाको सदरमुकाम र त्यस नजिकको गाउँमा समेत मतदाता शिक्षा पुग्न नसकेको विवरण निर्वाचन पर्यवेक्षक संस्थाहरुलाई प्राप्त भएको छ ।

मतदाता शिक्षा खाली औपचारिकतामा मात्र सीमित भएको जिल्लहरुबाट सूचना प्राप्त भइरहेको निर्वाचन पर्यवेक्षण समिति (नियोक) का महासचिव भवानीप्रसाद खरेलले जानकारी दिएको आजको नेपाल समाचार दैनिकमा छापिएको छ । विकट पवहाडी भेगमा मात्र नभई शहर बजारका मतदातासम्म शिक्षा पुग्न नसकेको स्थिति छ । यसपटक कति ठाउँमा स्वस्तिक छाप लगाउने ? मतपत्र कति छन ? भन्ने विषयमा अन्यौल रहेको छ । ललितपुर ठेचो निवासी विकास माली भन्छन्– यो कुरा त आयोगले टोल टोलमा कार्यक्रम राखेर जानकार दिनुपर्ने होईन र ?

काठमाडौं तारकेश्वर नगरपालिकाका साविकको धर्मस्थली गा.विसमा मतदाता शिक्षाका लागि स्वंसेवकहरु पुग्दा स्थानीय मतदाता कोही धान काट्नमा, कोही तरकारी बाली लगाउन व्यस्त देखिन्थ्ये । यसले गर्दा स्वंसेवीहरुले साविकको गाविस भवनमा मतदाता शिक्षा सम्बन्धि अन्तरक्रिया र ठाउँ ठाउँमा मतदाता शिक्षासम्बन्धी पोस्टर टाँसेका थिए । यस पटकको निर्वाचनमा मतपत्र कति वटा हुन्छ ? प्रदेश भनेको खास के कुरा हो ? एउटै पार्टीका ३ जना उम्मेद्वारहरु भोट माग्न आउका छन्’–गोदावरी नगरपालिका बडिखेलमा सविना नगरकोटीले सुनाउनुभयो । यो काठमाडौं उपत्यका शहरी भाग र काँठ क्षेत्रका मतदाताको प्रतिनिधिूलक भनाई हुन् ।