भूकम्प प्रभावित ५५ स्थानमा अनलिमिटेड इन्टरनेट निःशुल्क सेवा सञ्चालनमा ल्याईदै

१९ कार्तिक २०७४, आईतवार १३:५०

कात्तिक १९, काठमाडौं । नेपाल टेलिकमले कात्तिक १४ गतेसम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । ‘वाइम्याक्स’, ‘इभिडिओ’ तथा ‘थ्रीजी’ प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सेवा सञ्चालनमा ल्याएको जनाइएको छ ।  हालसम्म ५ नगरपालिका, ५ गाउँपालिका, ३ वडा कार्यालय, १५ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २७ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ ।  सो क्षेत्रमा जडान गरेको वाइम्याक्स बेस स्टेशनको संख्या ३० पुगेको छ । त्यसैगरी थ्रिजी डिभाइस १५ र इभिडिओको संख्या १० पुगेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीकाअनुसार ती चार जिल्लाका नगरपालिका, गाउँपालिका, माध्यामिक विद्यालय, हेल्थपोष्ट लगायतमा सर्भिस प्वाइन्ट स्थापना गरी आवश्यकता अनुसार वाइम्याक्स, जिएसएम, सिडिएमए र एडिएसएलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ ‘केबीपीएस’ गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क चलाउन पाउने छन् ।  भूकम्प प्रभावित क्षेत्रमा इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत वैशाख २१ मा भएको सम्झौता अनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको भनिएको छ ।