बेलायती महारानीसम्मको करछली खुलासा

२० कार्तिक २०७४, सोमबार ०८:४९

कात्तिक २०, काठमाडौं । विश्वभरका धनी र शक्तिशाली मानिसहरुले करछली गरेर गोप्य रुपमा ‘ट्याक्स हेवन’ देशहरुमा लगानी गर्ने गरेको खुलासा भएको छ । यसमा बेलायतकी महारानी एलिजावेथ द्वितियाको निजी सम्पत्ति पनि समावेश छ ।

ठूलो मात्रामा चुहावट भएको वित्तिय दस्तावेजहरुबाट यस्तो खुलासा भएको हो । यो चुहावटलाई प्याराडाइज पेपर्स नाम दिइएको छ । यसमा १.३४ करोड दस्तावेजहरु चुहावट भएका छन्, जसमध्ये अधिकांश दस्तावेजहरु विदेशी कम्पनीमा लगानी हेर्ने कम्पनीसँग सम्बन्धित छन् । बीबीसीका अनुसार महारानी एलिजावेथको एक करोड पाउन्ड कर छलेर लगानी गरिएको पाइएको छ । अमेरिकी वाणिज्य मन्त्री विल्बर रोसले समेत कर छलेर प्रतिबन्ध लगाइएको रुसी कम्पनीमा लगानी गरेको खुलासा भएको छ ।

विश्वभरका झण्डै एक सय समाचार संस्थाहरुले ती दस्तावेजका बारेमा छानविन गरिरहेको बताइएको छ । यी दस्तावेजहरु जर्मन अखबार ‘ज्यूड डाँयचे त्साइटुंङ’ ले फेला पारेको हो । दस्तावेजको जाँच ‘इन्टरनेसनल कन्सोर्सिटयम अफ इन्भेस्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) ले गरेको हो । केही समयअघि पनामा पेपर्स नामको खुलासा भएको थियो । पनामा पेपर्समा नाम परेका पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई त्यहाँको अदालतले अयोग्य ठहर गरेपछि उनले पद त्याग गर्नुपरेको थियो ।

प्याराडाइज पेपर्सअन्तर्गत एक साताभित्रै सयौं मानिसहरु र कम्पनीको कर र वित्तीय जानकारी सार्वजनिक गरिने बताइएको छ । जसमध्ये कयौं मानिसहरुको बेलायतसँग गहिरो सम्बन्ध छ । आइतबार बाहिर आएको यो खुलासा अत्यन्तै थोरै भएको बीबीसीले जनाएको छ ।

कसरी राजनेताहरु, बहुर्राष्ट्रिय कम्पनी, सेलिब्रेटी र उच्च ओहोदाका मानिसहरु ट्रस्ट, फाउण्डेसन, कागजी कम्पनीका माध्यमबाट कर अधिकृतहरुबाट आफ्नो नगद र व्यापारलाई कसरी लुकाउँछन् भन्ने बारेमा दस्तावेजहरु केन्द्रित छन् । अधिकांश लेनदेनमा कुनैपनि प्रकारको कानुनी अड्चन नभएको पाइएको छ । आइतबार जारी गरिएका केही समाचार स्टोरी यस्ता छन् ।

– क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रडोका सहयोगी देशको करोडौं डलर नोक्सान हुने विदेशी योजनासँग जोडिएका छन् । ‘ट्याक्स हेवन’ मुलुकलाई बन्द गर्ने अभियान चलाउने प्रधानमन्त्री ट्रडोलाई यसले लज्जास्पद अवस्था ल्याउन सक्छ ।

– कन्जरभेटिभ पार्टीका पूर्व डेपुटी चेयरमेन र ठूला दाता लर्ड एश्क्राफ्टले आफ्नो विदेशी लगानीको प्रवन्धनमा नियम कानुनप्रति चासो नै नदिएको हुन सक्छ । दस्तावेजबाट उनले ‘आउस अफ लर्ड’ मा आफूलाई गैरआवासीय नागरिकका रुपमा यथावत राखेको खुलेको छ । जबकी उनी ब्रिटेनका स्थायी नागरिक भइसकेको समाचार आएको थियो ।

– इवर्टन एफसीका एक मुख्य शेयरधनी कम्पनीको लगानीमाथि कस्तो किसिमको प्रश्न उठ्छ ।

– यी दस्तावेजहरुबाट एलिशर उस्मानेभले कसरी आफ्नो फर्मको जाँचलाई प्रभावित गरेका थिए भन्ने बारेमा पनि संकेत मिलेको छ ।

दस्तावेज जारी गर्ने अन्य मिडियाहरु आफ्नो क्षेत्रका हिसाबले समाचारहरु प्रकाशित गरिरहेका छन् ।

द प्याराडाइज पेपर्सबाट बेलायती महारानीको निजी सम्पत्तिबाट झण्डै एक करोड पाउण्ड विदेशमा लगानी गरिएको तथ्य बाहिर आएको छ । उनले उक्त रकम डची अफ लेन्कास्टरले क्यामरुन, आइल्याण्ड र बरमुडामा लगानी गरेकी थिइन् । महारानीको झण्डै ५० करोड पाउण्डको निजी जागिरको लगानीलाई सम्हाल्दै आएका लेन्कास्टर महारानीलाई आय रकम दिन्छन् ।

चुहावट भएका दस्तावेजले बेलायती महारानीको सम्पत्ति कुनै गैरकानुनी ढंगबाट लगानी नभएको र यसबाट महारानीले कर चुक्ता नगरेको बारे कुनै संकेत नमिले पनि महारानीले विदेशमा लगानी गर्न उपयुक्त हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा भने गरेको छ ।

गरिबको शोषण गरेको आरोप झेलेका रिटेलर समूह ब्राइट हाउसमा उनको थोरै लगानी छ । यस्तै ‘अफ लाइसेन्स फर्म थ्रेसर्स’मा पनि महारानीको लगानी रहेको छ । यो कम्पनी पछि १।७५ करोड पाउण्ड लगानीकर्तालाई फिर्ता गर्नुपर्ने अवस्थामा बन्द भएको थियो । जसका कारण ६ हजार कामदारहरुले नौकरीबाट हात धुनु परेको थियो ।

सम्पत्ति लगानीका बारेमा लिइएको फैसलामा महारानी सहभागी नरहेको डचीले जनाएको छ । डचीका अनुसार लगानीका बारेमा महारानीलाई जानकारी भएको बारेमा कुनै संकेत मिलेको छैन ।

सन् १९९० को दशकमा बिल्भर रोसले डोनाल्ड ट्रम्पलाई टाट पल्टिनबाट हुनबाट जोगाएका थिए । पछि ट्रम्पले उनलाई वाणिज्य मन्त्री बनाएर पुरस्कार दिएका थिए । दस्तावेजहरुबाट अमेरिकी वाणिज्य मन्त्री रोसले रुसको ऊर्जा कम्पनीलाई ग्यास र तेल ओसारपसारबाट वर्षेनी करोडौं डलर आर्जन गर्ने जहाज कम्पनीमा लगानी गरेको खुलासा भएको छ ।

रुसको उक्त ऊर्जा कम्पनीमा भ्लादिमीर पुटिनका ज्वाइँ र अमेरिकाको प्रतिवन्धको सामना गरिरहेका दुई नागरिकको पनि लगानी छ । जसबाट डोनाल्ड ट्रम्पको टीम र रुसबीचको सम्बन्धलाई लिएर फेरि प्रश्न उठ्ने भएको छ । रुसले गत वर्ष भएको अमेरिकी राष्ट्रपतिको चुनावको परिणामलाई प्रभावित पार्न भूमिका निभाएको आरोप अहिलेसम्म छायामा परिरहेको छ । ट्रम्प यो आरोपलाई ‘फेक न्यूज’ भन्दै आएका छन् ।

चुहावट भएका अधिकांश दस्तावेज बरमुडाको कानुनी सेवा दिने कम्पनीसँग सम्बन्धित रहेका छन् । यो कम्पनीले आफ्ना ‘क्लाइन्ट’लाई शून्य अथवा अत्यन्तै न्यून कर भएका मुलुकमा कम्पनी स्थापित गर्न मद्दत पुर्याउँदै आएको छ । कम्पनीका दस्तावेज र क्यारेबिआई क्षेत्रका कर्पोरेट रजिस्टरका दस्तावेजहरु जर्मन अखबार ‘ज्यूड डायचे त्साइटुंङ’ले प्राप्त गरेको थियो । अखबारले दस्तावेज उपलब्ध गराउने स्रोत सार्वजनिक गरेको छैन ।

दस्तावेज जाँच गर्ने मिडियाहरुले ‘ट्याक्स हेभन’ मुलुकबाट चुहावट हुने दस्तावेजबाट बारम्बार गलत कामहरु सार्वजनिक हुने भएकाले जाँच जनहितमा रहेको दावी गरेका छन् । चुहावटको जवाफमा एपलबीले भनेको छ, ‘‘हामी यो कुरालाई लिएर सन्तुष्ट छौं कि हामी र हाम्रा क्लाइन्टस्का तर्फबाट कुनै गलत काम भएको छैन ।’’ गैरकानुनी व्यवहार सह्य नहुनेपनि कम्पनीले स्पष्ट पारेको छ ।