नेपाल पहिलो पटक एसीसी यु–१९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश

२८ कार्तिक २०७४, मंगलवार १४:२१

कात्तिक २८, काठमाडौं । नेपाल एसीसी यु–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशले भारतलाई पराजित गरेसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले आफ्नो अन्तिम खेलमा आयोजक मलेसियालाई ८ विकेटले पराजित गरे पनि सेमिफाइनलको टुंगो भने बंगलादेश र भारतबीचको खेलले गराएको हो । नेपाल एसीसी यु–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो ।  ४६ रनको झिनो चुनौती पाएको नेपालले ५।३ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । नेपालको जितमा ओपनर अनिल कुमार शाहले २६ रन बनाए । उनले नटआउट १५ बलमा ३ छक्का र एक चौका प्रहार गरे । नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले ३ बलमा २ छक्काको मद्दतमा १२ बनाए भने र आसिफ शेखले ४ रनमा आउट भए । निकै विस्फोटक ब्याटिङ गरेको नेपालले यो प्रतियोगितामा सबै भन्दा कम ओभरमा जित निकालेको हो ।

 

आफ्नो अन्तिम खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेको हो । बंगलादेशको जितमा ओपनर पिनाक घोषले नटआउट ८१ रन बनाए । टस हारेर पहिलो ब्याटिङ गरेको भारतले ३२ ओभरमा छोट्याइएको खेलमा ८ विकेटको क्षतिमा १८७ रन बनाएको थियो ।  समूह ए बाट बंगलादेश विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । बंगलादेशले ३ खेलमा शतप्रतिशत जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने नेपालले २ खेलमा जित र १ खेलमा हारसहित सेमिफाइनलमा प्रवेश गरेको हो । भारत भने २ खेलमा हार र एक खेलमा जित्दै प्रतियोगिताबाट बाहिरिएको छ ।  सेमिफाइनलमा नेपालले आफ्नो प्रतिद्धन्दीको रुपमा अफगानिस्तान पाएको छ । अफगानिस्तान समूह बी को विजेता हो । त्यस्तै बंगलादेशले पाकिस्तान प्रतिद्धन्दी पाएको छ ।