पहिलो चरण निर्वाचनका लागि एक लाख सुरक्षाकर्मी परिचालन

८ मंसिर २०७४, शुक्रबार ०२:०२

मंसिर ८, काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनका लागि तीन ओटा सुरक्षा निकायका १ लाख ७ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । म्यादी प्रहरीको संख्याबाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी ती सुरक्षाकर्मी परिचालन भएका हुन् ।

निर्वाचनका लागि नेपाली सेना २८ हजार, नेपाल प्रहरी ६५ हजार, सशस्त्र प्रहरी १४ हजार गरी १ लाख ७ हजार सुरक्षाकर्मी परिचालन भएका हुन् । सरकारले निर्वाचनका लागि २८ हजार म्यादी प्रहरी भर्ना गरेको छ ।  तीमध्ये आवश्यकताअनुसार परिचालन हुने प्रहरी मुख्यालयले जनाएको छ । सरकारको तीनघेरे सुरक्षा रणनीतिअनुसार सुरक्षाकर्मी परिचालन भएका छन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने भएका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले आवश्यक पर्दा थप सेना परिचालन गर्ने गरी पहिलो चरणको निर्वाचनमा २८ हजार सेना परिचालन गरिएको जानकारी दिए । नेपाली सेनाले दुवै चरणको निर्वाचनमा ६४ हजार सेना परिचालन गर्ने भएको छ ।  सुरक्षा अवस्था हेरेर थप सेना परिचालन गर्ने योजना रहेको जानकारी गराउँदै प्रवक्ता दाहालले निर्वाचन सुरक्षाका लागि नेपाली सेना तयारी अवस्थामा रहेको जानकारी दिए । उनले पहिलो चरणको निर्वाचनका लागि सबै क्षेत्रमा सेना परिचालन भइसकेको जानकारी दिए ।

 

नेपाल प्रहरीले कार्यालय र महत्वपूर्ण काम गर्ने बाहेक सबै प्रहरी पहिलो चरणको निर्वाचनमा खटाएको छ । सबै निर्वाचन क्षेत्र, निर्वाचन कार्यालय र मतदान स्थलमा प्रहरी खटाईसकेका छौं –प्रहरी प्रवक्ता डिआइजी मनोज नउपानेले भने । उनले अति संवेदनशील र सामान्य अवस्था भएका निर्वाचन क्षेत्रमा अवस्था हेरेर प्रहरी परिचालन गरिउको जानकारी दिए ।  निर्वाचन सुरक्षा रणनीतिअनुसार पहिलो चरणमा निर्वाचन हुने जिल्लामा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । सशस्त्र प्रहरीले भने पहिलो चरणको निर्वाचनमा १४ हजार सशस्त्र प्रहरी परिचालन गरिउको जनाएको छ । सशस्त्र प्रहरी बलकाम प्रवक्ता डीआईजी बाबुराम पाण्डेले दोस्रो चरणको निर्वाचनमा हुने ४५ जिल्लामा २८ हजार सशस्त्र प्रहरी खटाउने निर्णय भएको जानकारी दिए । –नेपाल समाचारपत्र