नेपालमा पहिलोपटक ऊर्जासम्बन्धी सम्मेलन काठमाडौँमा सुरु

७ मंसिर २०७४, बिहीबार ०३:३८

मंसिर ७, काठमाडौं । नेपालमा पहिलोपटक भविष्यलाई ऊर्जा, सामग्री, प्रविधि र पर्यावरणसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ ।

 

मित्रकुञ्ज नेपाल, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट), रुसी सांस्कृतिक तथा विज्ञान केन्द्र र इन टेह डोर्न रसियाको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन बिहीबारसम्म चल्नेछ ।  सम्मेलनको उद्घाटन गर्दै नाष्टका उपकुलपति प्रा डा जीवराज पोखरेलले विकसित मुलकले अल्पविकसित मुलुकमा ऊर्जा र विज्ञानका क्षेत्रमा सहयोग गर्नुपर्ने धारणा राखे ।  पूर्व मन्त्री गणेश साहले कार्बन कम उत्सर्जिन कम गर्ने एवम् वातावरणमैत्री नवीकरणीय ऊर्जा प्रविधि आजको आवश्यकता भएको उल्लेख गर्दै नेपाल र रसियाका वैज्ञानिकले संयुक्तरुपमा काम गरी सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

 

सो अवसरमा नेपालका लागि रसियाली राजदूत आन्द्रेई बुधानिक, रसियन सांस्कृतिक तथा विज्ञान केन्द्रका निर्देशक स्तानिस्लाभ सिमाकोभ र इन टेह डोर्नका अध्यक्ष युरी इभानोभिचले पनि शुभकामना दिएका थिए ।  सम्मेलनमा रसिया र बेलारुसबाट आएका १५ जना तथा नेपालका तर्फबाट छ जना विज्ञले प्रस्तुत गर्ने कार्यपत्रमाथि छलफल हुनेछ ।  नेपालमा भएका ऊर्जा शक्तिको परिचय गराउने साथै नेपाल विज्ञान प्रतिष्ठान र रसियन विज्ञान प्रतिष्ठानबीच सम्बन्ध बढाउने एवम् कार्य गर्ने वातावरण बनाउने उद्देश्यले आयोजना गरिएको सो सम्मेलनमा विभिन्न मन्त्रालय, विभाग, परामर्श दातृ संस्था गरी करिब १०० जनाको सहभागिता छ । रासस