निर्वाचन आयुक्त शाहले ललितपुरको आकस्मिक अनुगमन गरे

१४ मंसिर २०७४, बिहीबार १०:२६

मंसिर १४, ललितपुर ।
मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा निर्वाचन आयुक्त सुधीरकुमार शाहले आज ललितपुर जिल्लाको आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा आयुक्त शाहले ललितपुरको समग्र सुरक्षा अवस्था, निर्वाचनको तयारी, कर्मचारी खटनपटन, निर्वाचन व्यवस्थापन, अनुगमन, आचारसंहिताको पालना लगायतबारेमा जानकारी लिएको बुझिएको छ । आयुक्त शाहलाई ललितपुरका मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडी, प्रमुख जिल्ला अधिकारी महादेव पन्त, प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादुर ऐर, प्रमुख सेनानी सुरज गुरुङ, सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कुुँवरलगायले निर्वाचनको तयारी र शान्तिसुरक्षाको अवस्थाकाबारेमा जानकारी गराएका थिए ।

उनीहरुले ललितपुरको शान्तिसुरक्षाको अवस्था सुदृढ रहेको, सम्बन्धित मतदान केन्द्रलाई लक्षित गरी सुरक्षा चौकी स्थापना भइसकेको, मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम अन्तिम चरणमा पुगेको, मतदान सामग्री रुजु गर्ने, केन्द्रअनुसार छुट्टाएर पोको पार्नेजस्ता कार्य अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।त्यसैगरी उनीहरुले आयुक्त शाहलाई दलहरुबीच स्वस्थ प्रतिस्पर्धा रहेको, केही दिनयता निर्वाचन प्रचार–प्रसारका सामग्री प्रदर्शन गर्ने होड दलहरुबीच बढेकाले आचारसंहिता विपरीतका ती सामग्री हटाउन आग्रह गरेको बताएका थिए । त्यस अवसरमा निर्वाचन आयुक्त शाहले कतिपय स्थानमा राखिएका आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाउन आवश्यक प्रबन्ध गर्न निर्देशन दिँदै सामग्री हटाएको वा नहटाएको अवस्थाको अनुगमन आयोगबाट पुनः हुने जानकारी दिए । शाहले उच्च सतर्क र चनाखो भएर निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा गर्ने कार्यमा दृढताका साथ काम गर्न तथा मतदान अधिकृत र सहायक मतदान अधिकृतको काँधमा ठूलो जिम्मेवारी रहेको हुँदा उनीहरुलाई गहन रूपमा प्रशिक्षित गर्न पनि निर्देशन दिए ।