निर्वाचनमा ७ नम्बर प्रदेशका छ जना उमेदवार आफुलाई मतदान गर्न नपाउने

३० कार्तिक २०७४, बिहीबार ०३:०६

कैलाली । मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा ७ नम्बर प्रदेशका छ जना उमेदवार आफुलाई मतदान गर्न नपाउने भएका छन् ।  कञ्चनपुर र कैलालीबाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता गराएका चार र प्रदेशसभा सदस्य पदका लागि उमेदवारी दिएका दुई जना उमेदवार आफुलाई मतदान गर्नबाट वञ्चित हुने भएका हुन् ।

 

आफुलाई मतदान गर्नबाट वञ्चित हुनेमा चार जना कांग्रेसका र दुई जना राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का छन् । कांग्रेसका उमेदवारहरुले मतदाता नामावली रहेको क्षेत्रभन्दा फरक स्थानबाट चुनावी प्रतिष्पर्धामा रहेकाले मतदान गर्न नपाउने भएका हुन् भने अन्य पुर्पक्षका लागि थुनिएका र एक जना टीकापुर घट्नापछि फरार छन् ।   डडेल्धुराको गन्याप गाउँपालिकामा मतदाता नामावली रहेका कारण कांग्रेस नेतृ डा. आरजु राणा देउवा आफुलाई मत हाल्न पाउँदिनन् । उनी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्दै आएका कांग्रेस केन्द्रीय सदस्य एनपी साउद पनि आफुलाई मतदान गर्न नपाउने उमेदवारमा पर्दछन् । निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने भीमदत्त नगरपालिका–२ बाट मतदाता नामावली जारी भए पनि नेता साउद क्षेत्र नम्बर २ बाट लगातार चुनाव लड्दै आएका छन् ।

 

यसैगरी कांग्रेसका अर्का नेता तथा पूर्वसांसद बहादुरसिँह थापा र जनजाति नेता गोपाल गुरुङ पनि आफुलाई मतदान गर्न नपाउने भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ ‘ख’बाट प्रदेशसभा सदस्यका लागि उमेदवारी दर्ता गराएका पूर्वसाँसद थापाको मतदाता नामावली क्षेत्र नम्बर ३ मा पर्ने भीमदत्त नगरपालिका–६ मा रहेको छ ।   त्यस्तै कञ्चनपुरकै क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्यमा कांग्रेसका तर्फबाट उमेदवार बनेका गुरुङको नामावली पनि भीमदत्त नगरपालिका–५ बाट जारी भएको छ ।   राजपाबाट प्रतिनिधिसभा सदस्यका लागि वारिसमार्फत उमेदवारी दर्ता गराएका रेशम चौधरी र लक्ष्मण थारुले पनि आफुलाई मतदान गर्न पाउनेछैनन् ।

 

उनीहरु दुवै जना टीकापुर घटनामा मुछिएका व्यक्ति हुन् । टीकापुर घटनामा डेढ वर्षिय नावालक टेकेन्द्र साउदसहित आठ जना प्रहरीको हत्या भएको थियो ।   घटनामा संलग्न भएको आरोपमा सरकारले थारुलाई पुर्पक्षका लागि थुनामा राखेको छ भने चौधरी फरार छन् । क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि थारुको मतदाता नामावली धनगढी उपमहानगरपालिका र क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उमेदवारी दिएका चौधरीको नामावली टीकापुर नगरपालिकामा रहेको छ ।