निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक, २५३ जनाको नाम हट्यो

४ मंसिर २०७४, सोमबार ०१:५२

मंसिर ४, काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

दलहरुले बुझाएको सूचीमा रहेकाहरुमाथि परेको उजुरीका आधारमा २५३ जनाको नाम हटाएर आयोगले अन्तिम सूची सार्वजनिक गरेको हो ।  आयोगले हिजो सार्वजनिक गरेको बन्दसूचीमा प्रतिनिधिसभातर्फ २ हजार २ सय ७३ र प्रदेशसभाका लागि ३ हजार ५ सय ६५ उम्मेदवार कायम छन् ।

जस अनुसार प्रदेश नं. १ मा ५७७, प्रदेश नं. २ मा ८०४, प्रदेश नं. ३ मा ७७४, प्रदेश नंं. ४ मा ३१९, प्रदेश नं. ५ मा ६०४, प्रदेश नं. ६ मा २०६ र प्रदेश नं. ७ मा २८१ उम्मेदवार कायम रहेका छन् ।  यसअघि दलहरुले गत असोज २९ गते पेश गरेको उम्मेदवारहरुको बन्दसूचीको प्रारम्भिक विवरण आयोगले गत कात्तिक १७ गते सार्वजनिक गरेको थियो ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ राजनीतिक दलका र प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उम्मेदवारहरु बन्दसूचीमा समावेश भएको प्रारम्भिक विवरण रहेको थियो ।