निर्वाचनको मुखमा तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय

२० कार्तिक २०७४, सोमबार ०६:०२

कात्तिक २०, काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा तराई मधेसका बाढी प्रभावित क्षेत्रमा राहतको विशेष प्याकेज ल्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विशेष प्याकेजको तयारी गर्न अर्थमन्त्रालयलाई जिम्मा दिएको छ ।

साउन महिनामा आएको बाढी र पहिरोले तराई मधेसको अधिकांश बस्ती डुबानमा परेको थियो भने ठूलो जनधनको क्षति भएको थियो । त्यसको तीन महिनापछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको हो ।

उक्त बैठकबाट सरकारले रक्षा सचिवमा विनोद केसीको सरुवा गरेको छ भने मलेसियाको राजदूतमा निरन्जनमान बस्नेतलाई अर्को व्यवस्था नभएसम्म यथावत राख्ने निर्णय पनि गरेको छ ।

यसैगरी मन्त्रिपरिषद बैठकले अमेरिकाले ग्रामिण कृषि सडक निर्माणका लागि दिने एक सय मिलियन डलर सहयोग लिने विषयमा सहयोग गर्न वार्ता समिति गठन गरिएको छ । १६ जिल्लामा रहेको ३८८ किलोमिटर लामो ग्रामिण कृषि सडक निर्माण गर्न अमेरिकाले एक सय मिलियन डलर सहयोग दिने प्रस्ताव गरेको छ ।