स्मार्ट बोर्डमार्फत त्रिविमा पठनपाठन शुरु

१३ मंसिर २०७४, बुधबार ०४:४९

मंसिर १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै क्याम्पसमा स्मार्ट बोर्डबाट पठनपाठन गर्ने भएको छ । त्रिविले उच्च शिक्षालाई सूचना प्रविधिमैत्री बनाउने क्रममा पठनपाठनमा स्मार्ट बोर्ड प्रयोग गर्न थालेको हो । उसले आफ्ना ६० आंगिक क्याम्पसमा नमुना स्मार्ट बोर्ड कार्यान्वयनका निम्ति बजेटसमेत छुट्याएको छ ।

त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीका अनुसार चालु आर्थिक वर्ष २०७४/७५ मा प्रत्येक आंगिक क्याम्पसलाई एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘उच्च शिक्षालाई प्रविधिमैत्री बनाउन थोरै नै भए पनि एक–एक लाख रुपैयाँ बजेट विनियोजन भएको छ,’ उनले भने । त्रिविले गत वर्षदेखि नै कीर्तिपुरस्थित उपकुलपति कार्यालय, विभिन्न संकाय, केन्द्रीय विभाग, अनुसन्धान केन्द्र, केन्द्रीय क्याम्पस, केन्द्रीय पुस्तकालयलगायतमा नि:शुल्क वाईफाई जोन लागू गरेको छ । त्यसैगरी स्मार्ट बोर्ड पनि कार्यान्वयन गरिसकेको छ । प्रविधिमैत्री बनाउन त्रिविले नेपाल टेलिकमसित सम्झौता गरेको छ ।

स्मार्ट बोर्ड प्रयोग कार्यान्वयनसँगै हरेक शिक्षकले आफ्नो अध्यापन विषयलाई डिजिटल रूपमा तयार गर्नुपर्ने छ । इलेक्ट्रिक सेतो स्मार्ट बोर्डमा साधारण मार्कर प्रयोग गर्न पाइनेछ । विद्युतीय सूचना प्रविधिमार्फत शिक्षकले पढाएको विषयवस्तु र प्रस्तुतिलाई विद्यार्थीले पेनड्राइभ वा सिडीमा लिन पाउनेछन् । स्मार्ट बोर्ड पठनपाठन विद्यार्थीलाई विषयवस्तु बुझ्न बढी प्रभावकारी हुनेछ ।

शिक्षकले लेखेको विषय सामान्य डस्टरले मेट्न पाउने र मेटाएका सबै विषय मेमोरीमा स्टोर हुने व्यवस्था छ । चाहेको बेला मेटाएको विषय हेर्न पाइनेछ । बोर्डमा शिक्षकले पढाएको सम्पुर्ण विषय रेकर्ड हुने व्यवस्था गरिएको छ ।

उपकुलपति तीर्थ खनियाँले त्रिविको पठनपाठनलाई आधुनिकीकरण गर्ने क्रममा सूचना प्रविधिको अधिकतम प्रयोगमा जोड दिइएको बताए । ‘हरेक निकाय सूचना प्रविधिसँग नजिक भइसकेको अवस्थामा त्रिविका आंगिक क्याम्पसलाई स्मार्ट बोर्ड दिने निर्णय भएको हो,’ उनले भने । नमुनाका रूपमा एक–एक स्मार्ट बोर्ड उपलब्ध गराउने र त्यसपछि सबै क्यापस आफैंले थप व्यवस्थापन गर्नेछन् ।

त्रिविले पहिलो चरणमा कीर्तिपुरबाट सुरु गरिएको स्मार्ट बोर्ड पठनपाठन उपत्यकाका १८ आंगिक क्याम्पस र त्यसपछि देशभरिका अन्य आंगिक क्याम्पसमा लागू गर्ने नीति अघि बढाएको छ । त्रिविले पहिलो चरणमा ३९ वटा केन्द्रीय विभागमा स्मार्ट बोर्ड प्रयोग गरिसकेको छ ।

– कान्तिपुर दैनिक