तीन थरी मतपत्र तीन रंगका यसरी मतदान गर्ने

१९ कार्तिक २०७४, आईतवार १३:३१

कात्तिक १९, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने निर्णय लिएको छ ।

आगामी निर्वाचनमा मतदाताले तीनवटा मतपत्रबाट चार स्थानमा मतदान गरी तीनवटा फरक–फरक मतपेटिकामा खसाल्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा मतदाता नझुक्किऊन्, एउटा सभाको मतपत्र अर्को सभाको मतपेटिकामा नखसालुन् भनेर आयोगले विशेष ध्यान पुर्‍याउनुपर्नेछ ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतदान प्रक्रियालाई मतदातामैत्री बनाउन मतदान केन्द्रको व्यवस्थापन परिमार्जन गरिएको बताए । यसअघि दुइटा मतपत्र र दुइटै मतपेटिकाबाट चुनाव गराउने तयारी भएकामा त्यहीअनुसार मतदान केन्द्रको डिजाइन गरिएको थियो । मतपत्र तीनवटा हुने भएपछि केन्द्रको डिजाइन पनि परिवर्तन गरिएको हो । ‘मतदातालाई सहज होस्, मत बदर नहोस् भनेर मतदाता शिक्षा र कर्मचारी तालिममा जोड दिनुका साथै मतदान केन्द्रको डिजाइन परिवर्तन गरिएको छ,’ उनले भने, ‘सम्पूर्ण तयारी गर्दा मतदातालाई ध्यानमा राखिएको छ ।’

यस्तो छ मतदान प्रक्रिया

मतदान केन्द्र प्रवेशसँगै मतदाताले पहिलो डेस्कमा मतदाता नामावली रुजु गराउनेछन् । मतदाताको नङमा मसी लगाउने काम त्यहीं हुनेछ । मतादाताले त्यही डेक्सबाट प्रत्यक्षतर्फ प्रदेशसभाको मतपत्र पाउनेछन् । पहिलो घेरा ९गोप्य कक्ष० प्रवेश गरी स्वस्तिक चिह्न लगाएर नजिकैको प्रदेशसभाको मतपेटिकामा मत खसालिसकेपछि अर्को डेस्कबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र पाउनेछन् । त्यहाँ पनि फरक गोप्य कक्ष र फरक मतपेटिका प्रयोग हुनेछन् । तेस्रो डेस्कबाट मतदाताले समानुपातिकतर्फको मतपत्र पाउनेछन् । समानुपातिकतर्फ एउटै पानाको मतपत्रमा माथि प्रतिनिधिसभा र तल प्रदेशसभाका लागि निर्वाचन चिह्न हुनेछन् । मतदाताले त्यहाँ दुवै सभाका लागि अलग–अलग स्वस्तिक चिह्न लगाउनुपर्ने हुन्छ । समानुपातिकका लागि पनि प्रदेश र प्रतिनिधिसभाका लागि अलग्गै गोप्य कक्ष र अलग्गै मतपेटिका हुनेछन् ।

तीन थरी मतपत्र तीन रंगका छन् । प्रत्यक्षतर्फ सेतो पानामा कालो रंगले चिह्न छापिएको प्रदेशसभाको, हरियो रंगले चिह्न छापिएको प्रदेशसभाको र रातो रंगले चिह्न छापिएको समानुपातिकतर्फका मतपत्र छन् । आयुक्त दाहालले मतदातालाई सजिलो होस् भनेर मतपत्रको रंगअनुसार तीनवटै मतपेटिकाको रंगसमेत मिलाइने बताए । ‘मतपेटिकालाई मतपत्रअनुसार तीनवटा छुट्टाछुट्टै रंगका कागजबाट बेरिनेछ,’ उनले भने, ‘हातमा जुन रंगको मतपत्र छ, त्यही रंगको मतपेटिकामा मतदाताले मत खसाल्न सजिलो हुनेछ ।’

मतदान केन्द्र प्रवेश गरेपछि मतदाताले तीनवटा मतपत्र पाउने र तीनवटै मतपत्रमा मतदान गरी फरक–फरक मतपेटिकामा खसाल्ने अनि मात्रै बाहिर आउने गरी निकाससहितको घेराबेरा हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । कुनै मतदाताले कुनै सभाको मत नखसाले त्यसको छुट्टै रेकर्ड राख्ने व्यवस्थासमेत केन्द्रमै मिलाइएको छ ।

देशभर १९ हजार ९ सय ८ मतदान केन्द्र छन् । तीनवटा मतपत्रको व्यवस्थासँगै प्रत्येक केन्द्रमा एक जना थप कर्मचारी व्यवस्था गरिएको छ । एक हजार मतदाता भएका केन्द्रमा मतदान अधिकृतले एक जना थप कार्यालय सहयोगी पाउनेछन् । प्रायजसो मतदान केन्द्रमा एक हजारभित्रै मतदाता छन् । सबैभन्दा धेरै १ हजार ६४ सम्म मतदाता भएको मतदान केन्द्र छन् ।

मतदान केन्द्रमा मतपेटिका थपिएसँगै सुरक्षा संवेदनशीलतासमेत बढ्ने भएकाले त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाउन आयोगले सुरक्षा निकायलाई भनिसकेको छ । करिब २० हजार मतदान केन्द्रलाई ६० हजार मतपेटिका चाहिन्छ । भर्खरै स्थानीय तह निर्वाचन सम्पन्न भएको र त्यसबेला ३० हजार मतपेटिका खरिदसमेत गरिएकाले यतिबेला आयोगसँग ८० हजार हाराहारी मतपेटिका छ ।

आयुक्त दाहालले मतपेटिकाको संख्यामा समस्या नरहेको तर साँघुरो स्थलमा रहेका मतदान केन्द्रमा तीनवटा मतपेटिकाको व्यवस्थापन मिलाउन केही चुनौती हुन सक्ने बताए । ‘तर, विकल्प छैन साँघुरो स्थलमा पनि जेनतेन तीनवटा मतपेटिका राख्नैपर्छ, समस्या आम मतदाताले बुझिदिनुपर्ने हुन्छ,’ उनले भने, ‘मतदानमा खटिएका कर्मचारीले समेत होसियारीसाथ जिम्मेवारी पूरा गर्नुपर्छ ।’

उनले तीनवटा मतपत्र राख्ने निर्णय भएपछि त्यहीअनुसार कर्मचारीलाई प्रशिक्षण दिने, मतदाता शिक्षाका सामग्री तयार पार्ने काम भइरहेको बताए । मतदाता, राजनीतिक दल, कर्मचारी सबैले भर्खरै स्थानीय तहको निर्वाचनमा अनुभव पाएकाले त्यसले आगामी निर्वाचनमा थप सहज हुने उनको भनाइ छ । कान्तिपुरबाट