ट्वेन्टी ट्वेन्टी महिला विश्वकप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा आज नेपालले चीनसँग खेल्दै

१० मंसिर २०७४, आईतवार ०२:०९

मंसिर १०, काठमाडौं । थाईल्याण्डमा जारी ट्वेन्टी ट्वेन्टी महिला विश्वकप छनोट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा आज नेपालले चीनसँग खेल्दैछ ।

 

समूहका चार खेलबाट ४ अंक मात्रै जोडेको नेपाललाई अर्को चरणमा पुग्न आजको खेल जितेरै मात्रै पनि पुग्नेछैन, समूहका अन्य खेलमा हङकङ र युएई पराजित हुनुपर्नेछ ।  आज हङकङले आयोजक थाईल्याण्डको सामना गर्नेछ भने युएईले मलेसियाको सामना गर्नेछ । समूहका ४ खेलको समाप्तिसम्म ७ अंक जोडेको थाईल्याण्ड शीर्ष स्थानमा छ ।समान खेलबाट ६ अंक जोडेको युएई दोस्रो स्थानमा छ भने तेस्रो स्थानको हङकङको ५ अंक छ । नेपालको ४ अंक मात्रै छ ।   ६ टोली सहभागि प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछन् ।

 

नेपालले समूहका सुरुवाती दुई खेलमा वर्षाको कारण अंक बाँड्न बाध्य भएको थियो । तेस्रो खेलमा युएईसँग ५ रनको अप्रत्याससित हार वेहोरेपछि नेपालको यात्रा कठिन बनेको हो ।  चौथो खेलमा मलेसियालाई ३३ रनले हराएपछि प्रतियोगितामा जिवित रहेको नेपालले अन्तिम खेलमा आज चीनसँग खेल्न लागेको हो ।  यसअघिका दुई वटै संस्करणमा चीन शिर्ष दुई स्थानमा रहँदै ग्लोबल क्वालिफायरसम्म पुगको थियो ।