झापाका ४९ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

८ मंसिर २०७४, शुक्रबार ०९:५३

मंसिर, ८ झापा ।
जिल्ला प्रहरी कार्यालय झापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४९ वटा मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखेको जनाएको छ ।

मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको वर्गीकरण गरेको गरेको हो । जिल्लामा २८३ मतदानस्थल र ६९२ मतदान केन्द्र कायम भएकामा १०४ संवेदनशील र १३० मतदान स्थललाई समान्य रहेको प्रहरीले जनाएको छ ।

पाँच निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचनबाट पाँचजना प्रतिनिधिसभा र १० प्रदेशसभाका प्रतिनिधि निर्वा्चित हुने र यसका लागि झापामा पाँच लाख ८५ हजार १६६ जनाले मतदान गर्ने भएका छन् ।

यसैगरी, प्रत्येक मतदान केन्द्रका लागि खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई हिजोदेखि तालिम दिन सुरु गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनमा करिव पाँच हजार ५०० कर्मचारी खटिने निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिएको राससले खवर लेखेको छ ।