जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिन अस्वीकार

४ मंसिर २०७४, सोमबार ०३:०३

मंसिर ४, काठमाडौं । जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिन आएका चौतर्फी माग अस्वीकार गरेका छन्।

व्यग्र प्रतीक्षा गरिएको देशवासीका नाममा दिइएको एउटा सम्बोधनमा उनले राजीनामा दिने अपेक्षा गरिएको थियो।   तर उक्त सम्बोधनमा उनले आगामी महाधिवेशनमार्फत सत्तारुढ जानु(पिएफ पार्टीको नेतृत्व गर्ने आफ्नो चाहना रहेको घोषणा गरे।   ९३ वर्षीय राष्ट्रपति मुगाबेको उक्त निर्णय उनको दलले उनलाई पार्टी नेताबाट हटाउने निर्णय गरेपछि आएको हो।


मुगाबेले भने, अबको केही हप्तापछि पार्टीको महाधिवेशन हुन गइरहेको छ र म त्यसको प्रक्रियाको अध्यक्षता गर्नेछु। आफ्नो छेउमा अघिल्लो साता सत्ता हातमा लिएको सेनाका जर्नेलहरु राखेर मुगाबेले सम्बोधन गरेका थिए।
विश्लेषकहरु भन्छन्, सेना मुगाबे पदबाट हटुन भन्ने चाहन्छ तर संविधानलाई उल्लंघन नगरियोस् भन्ने पनि उसको भनाइ छ।
राष्ट्रपति मुगाबेका पूर्व साझेदारहरुले राजीनामा नदिने उनको निर्णयको कडा शब्दमा निन्दा गरेका छन्।

 

स्वतन्त्रता सेनानीको संगठनका प्रमुख क्रिश मुत्सवाङवाले बीबीसीसँग भने मुगाबेको समय समाप्त भइसकेको छ।   उनले आन्दोलनकारीहरुले शनिबार जस्तै गरी राष्ट्रपति मुगाबेविरुद्ध प्रदर्शन गर्ने जनाए।  मुगाबेको ठाउँमा एमरसन मनाङग्गाग्वालाई पार्टीको नेता चुनिएको छ।   बीबीसीका अफ्रिका संवाददाता एन्ड्र्यु हार्डिङ भन्छन्, मुगाबेको पछिल्लो धारणाले जिम्बाब्वेको राजनीतिक गतिरोधलाई कहाँ पुर्याउँछ प्रष्ट भइसकेको छैन्।
जानु(पिएफ दलले मुगाबेले सोमवार मध्यान्हसम्म राजीनामा नदिए उनीविरुद्ध महाभियोगको प्रस्ताव ल्याउने चेतावनी दिएको छ।