गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको घरमा बम विस्फोट

५ मंसिर २०७४, मंगलवार ०२:२९

मंसिर ५, बागलुङ । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ नगरपालिका–२ स्थित घरमा गएराति बम विस्फोट भएको छ ।

राति ११ बजे भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेदवारसमेत रहेकी राज्यमन्त्री खड्का घरमै रहेको समयमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए ।

 

विस्फोट गराउने समूहको पहिचान नभए पनि चुनाव बहिष्कारमा लागेको नेपाल कम्युनिस्ट पार्टीले गराएको आशंका गरिएको छ । ‘हामी अनुसन्धानमै छौँ, चुनावी वातावरण बिगार्ने उद्देश्यले विस्फोट गराएको देखिन्छ,’ प्रहरी उपरीक्षक खापुङले भने, ‘घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउँछौँ ।’  मध्यरातमा एक्कासि ठूलो आवाजसहित बम विस्फोट भएपछि बजारवासी त्रस्त थिए । विस्फोटलगत्तै प्रहरीले घटनास्थललाई घेराउ गरेको छ । बम विस्फोटबाट घरअघि आँगनमा रहेको पर्खालमा सामान्य क्षति पुगेको छ । (रासस)