काँग्रेस र राप्रपाको अवरोधपछि उत्तरी धादिङको झार्लाङमा १० बजेबाट मात्र मतदान सुरु

१० मंसिर २०७४, आईतवार ०५:०५

मंसिर १०, धादिङ । लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरुले वाम गठबन्धनका प्रतिनिधिलाई नै मतदान केन्द्रमा रोक लगाएपछि उत्तरी धादिङको झार्लाङमा ढिला गरी मतदान सुरु भएको छ ।

खनियाबास गाउँपालिका अन्तर्गत झर्लाङको बन्दीदेवी मतदान केन्द्रमा लोकतान्त्रिकका कार्यकर्ताले वाम गठबन्धनका प्रतिनिधिलाई मतदान केन्द्रमा जान रोकेपछि बिहान ७ बजेदेखि सुरु हुनुपर्ने मतदान प्रक्रिया ढिला गरी १० बजेबाट मात्र सुरु भएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीका अनुसार भिरालो भौगोलिक अवस्था रहेकोमा मतदान गर्न हिडेका वाम गठबन्धनका कार्यकर्तालाई लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले माथिबाट ढुंगा खसाएर अवरोधको प्रयास गरेका थिए ।

त्यसक्रममा वाम गठबन्धनका एक कार्यकर्ता घाइते भएको उनले जानकारी दिए । ‘एक जनाको हात भाँच्चिएको खबर आएको छ, धेरै जानकारी छैन ।’ प्रजिअ भण्डारीले भने ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले लोकतान्त्रिक गठबन्धनका कार्यकर्तालाई तितरबितर पारेपछि मतदान शान्तिपूर्ण रुपमा सुरु भएको प्रजिअ भण्डारीले जानकारी दिए ।

मतदान केन्द्रको थप सुरक्षाका लागि सदरमुकामबाट हेलिकोप्टरबाट नेपाली सेनाको टोली पठाइएको पनि उनले जानकारी दिए ।

यसैबीच गजुरी र थाक्रे गाउँपालिकाको एक एक केन्द्रनजिक बम भेटिएपछि मतदाता त्रसित बनेका छन् । धादिङको अन्य स्थानमा शान्तिपूर्ण मतदान भइरहेको छ ।