कक्षा ८ को परीक्षा अब स्थानीय तहबाट

७ मंसिर २०७४, बिहीबार ०१:५९

मंसिर ७, काठमाडौं । शिक्षा मन्त्रालयले यो वर्षदेखि कक्षा ८ को जिल्लास्तरिय परीक्षा गर्ने जिम्मा स्थानीय निकायलाई दिएको छ । शिक्षा विभागले मंगलबार निर्णय गरी सबै स्थानीय निकायबाट कक्षा ८ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

विघटनको संघारमा पुगेका जिल्ला शिक्षा कार्यालयलले अहिलेसम्म आफ्ना मातहतकाबाट विद्यालय सञ्चालन भइरहेको अवस्थामा जिशिकाबाटै परीक्षा सञ्चालन आएका थिए । कतिपय जिल्ला शिक्षा कार्यालयले परीक्षा सञ्चालन गर्न तयारी समेत गरेका थिए । तर शिक्षा मनत्रालयले मंसिर ३ गते सचिवस्तरीय निर्णय गरी स्थानीय निकायबाट परीक्षा सञ्चालन गर्न शिक्षा विभागमा पत्रचार गरेपछि शिक्षा कार्यालयहरुको कक्षा ८ को अन्तिम परीक्षा सञ्चालन गर्ने सपना पूरा हुन सकेन ।  स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय सरकार नै परीक्षा सञ्चालन गर्ने उल्लेख भएता पनि अधिकांश स्थानीय तहको कार्यालय र कर्मचारीको व्यवस्थापन नभएका कारण यो वर्षका लागि समस्य देखिएको हो । तर सरकारले ऐनमा उल्लेख भएअनुसार परीक्षा सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको हो ।

काठमाडौं जिल्ला शिक्षा कार्यालय आफै परीक्षा सञ्चालन गर्ने तयारीमा गरेको थियो । शिक्षा विभागले नेपालको संविधानअनुसार विद्यालय शिक्षाको सञ्चालन, व्यवस्थापन लगायतका कार्यहरु स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने भएकाले परीक्षा सञ्चालन गर्ने अधिकारसमेत स्थानीय तहलाई दिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ कार्यान्वयनमा आइसकेको हुँदा सो ऐनको परिच्छेद ३ को दफा ११ ज(१४) बमोजिम कक्षा ८ को परीक्षा सञ्चालन गर्न सबै जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालयलाई पत्रचार गरेको हो । –नेपाल समाचारपत्र