एक चौथाइ महिला उम्मेदवार स्वतन्त्र

२७ कार्तिक २०७४, सोमबार ०४:२३

कात्तिक २७, काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फका महिला उम्मेदवार मध्ये एक चौथाइ भन्दा बढीले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।

 

संघीय र प्रादेशिक चुनावअन्तर्गत पहिलो हुनेले जित्ने प्रत्यक्ष प्रणालीतर्फ महिला उम्मेदवारको कुल संख्या १४६ छ। निर्वाचन आयोगको आंकडा अनुसार ३८ जना महिला स्वतन्त्र उम्मेदवारका रुपमा उठेका छन् भने बाँकी दलहरुले उठाएका हुन्।  सानो दल राष्ट्रिय जनमुक्ति पार्टीले १० जनालाई प्रत्यक्षतर्फ चुनावी मैदानमा उतारेको छ जुन ठूला दलहरुले महिलालाई प्रत्यक्षमा दिएको स्थानभन्दा बढी हो।   उम्मेदवार कांग्रेसले ८ र एमाले(माओवादी केन्द्रको वाम गठवन्धनले ९ महिलालाई उम्मेदवार बनाएका छन्।  ठूला दलहरुले भने महिला उम्मेदवारहरुले नै समानुपातिकमा बस्न रुची नदेखाएका कारण चाहेर पनि प्रत्यक्षमा उठाउन नसकेको बताएका छन्।

 

नेपाली काँग्रेसका एक नेता बालकृष्ण खाँड भन्छन्, हामीले धेरै अभिप्रेरित गर्दा पनि समानुपातिकमै बस्न चाहने दिदीबहिनीको संख्या धेरै भएकोले हामीले चाहेर पनि प्रत्यक्षमा ठूलो संख्यामा महिला उम्मेदवार दिन सकेनौं। एकातिर उम्मेदवारी कम दिइएको र उठाइए पनि पार्टीको उपस्थिति कमजोर भएको स्थानमा महिलालाई उम्मेदवार बनाइएको भन्दै कतिपयले दलहरुको आलोचना गरेका छन्।  संसदमा महिलाको उपस्थिति एक तिहाइ पुर्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले दलहरुलाई समानुपातिकमा दबाब पर्ने ठानिएको छ।  निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्मा भन्छन्, उम्मेदवारी दिनु ठूलो कुरा होइन, जित्नु प्रमुख विषय हो। विगतमा महिलाहरुले पुरुषसँगको प्रतिस्पर्धामा निकै कम स्थानमा मात्र जितेका छन्। त्यसैले दलहरुलाई समानुपातिकमा महिलाहरु बढी चुन्नुपर्ने दबाब धेरै हुनेछ।  समानुपातिक सूचीमा रहेका कतिपय महिला उम्मेदवार पनि दलका केन्द्रीय नेताका आफन्त तथा निकटवर्तीहरु रहेको भन्दै तीव्र आलोचना भएको छ। बिबिसी नेपाल