इन्डोनेसियाको बालीमा बालीमा ज्वालामुखी विस्फोटको खतरा ‘रेड वार्निङ’ जारी

११ मंसिर २०७४, सोमबार ०५:०५

मंसिर ११, बाली । इन्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने पूर्वसंकेत देखिएपछि ‘रेड वार्निङ’ जारी गरिएको छ । रेड वार्निङको मतलब ज्वालामुखी विष्फोट हुने आशंका हो ।

माउन्ट आगुंगमा हावामा चार हजार मिटर माथिसम्म खरानी र धुँवाको मुस्लो फैलिएको छ र खासगरी विमान कम्पनिहरुलाई सजग रहन भनिएको छ ।  इन्डोनेसियाको द्वीपमा खरानी र धुँवा फैलिएर हवाइ उडान प्रभावित भएको एक साताभित्र यो दोस्रो पटक हो वायुमण्डलमा खरानीको धुलो फैलिएपछि स्थानीय प्रशासनले बस्तीहरुमा मास्क वितरण गरेको छ ।   इन्डोनेसियाको बाली एक प्रमुख पर्यटकीय स्थल हो । यद्यपि बालीको आकर्षणको केन्द्र कुटा र सेमिनयाक जस्ता क्षेत्र ज्वालामुखीभन्दा करिब ७० किलोमिटर टाढा पर्दछन् ।

 

द्वीपको मुख्य एयरपोर्ट सामान्य तरिकाले चलिरहेको छ तर केही विमान कम्पनीहरुले आफ्नो उडान रद्द गरेका छन् । ज्वालामुखीको खरानीले विमानको इन्जिन विगार्दछ ।  खरानीको मुस्लो बालीबाट लोम्बोक द्वीप तर्फ अघि बढिरहेको छ जहाँ मुख्य अन्तर्राष्ट्रिय हवाइ अड्डा बन्द गरिएको छ । आपत निवारण एजेन्सीले ज्वालामुखी फुट्न लागेको स्थानभन्दा साढे सात किलोमिटर वरपरको क्षेत्र खाली गराउन निर्देशन दिएको छ ।  यसै वर्ष एक लाख ४० हजार जनाले सो वरपरको क्षेत्र छाडेका छन् भने करिब २५ हजार जना अस्थायी घरमा बसीरहेका छन् । सेप्टेम्बरको अन्त्यतिर स्थानीयबासीलाई आफ्नो घर फर्किन स्थानीय प्रशासनले भनेको थियो । तर, उनीहरु फर्किएका छैनन् ।

 

स्थानीय प्रशासनका अनुसार ज्वालामुखीको कारण पर्यटन र कृषि उत्पादनमा बाली द्वीपलाई ११० मिलियन डलर घाटा लागिसकेको छ ।  इन्डोनेसियालाई ज्वालामुखीको घर पनि भनिन्छ जहाँ १३० ज्वालामुखी सक्रिय छन् । अन्तिमपटक माउन्ट आगुंग सन् १९६३ मा फुटेको थियो जसको कारण एक हजार जनाको मृत्यु भएको थियो । बीबीसी