आज गुह्येश्वरी जात्राको आयोजना

२७ कार्तिक २०७४, सोमबार ०१:१७

कात्तिक २७,काठमाडौंँ । मार्ग कृष्ण दशमीका दिन सोमबार परम्पराअनुसार गुह्येश्वरी जात्राको आयोजना हुने भएको छ ।

 

जात्राका लागि गुह्येश्वरीमा ३२ हात अग्लो लिङ्गो ठड्याइएको छ । पशुपति गुठी गोश्वारा कार्यालयले जात्राका लागि ४८ हजार रुपियाँ निकासा गरेको छ । जात्राका लागि हनुमानढोका तुलजा भवानीलाई गुह्येश्वरीको स्वरूप मानेर हनुमानढोकाबाट खटमा राखी तुलजालाई गुह्येश्वरी लगिएको छ ।

सोमबार दिनभर जात्रा गरिएपछि राति तुलजालाई हनुमानढोकामा फर्काइने छ । नेपाली सेनाको शार्दुलजङ्ग गुल्मले सोमबार देवी समक्ष बढाइँ अर्पण गरेपछि गुह्येश्वरीलाई सिफल, नक्साल, जमल हुँदै हनुमानढोकासम्म परिक्रमा गराइनेछ । ल्हासामा व्यापार बन्दोबस्त गर्दै आएका परम्पराका ३२ कोठी साहु महाजनकातर्फबाट उनीहरूको सन्ततीले यहाँ विशेष अर्चना गर्ने प्रचलन छ । असन, इन्द्रचोक, विशालबजार लगायतमा व्यापार गरिरहेका ब्रजाचार्य तथा शाक्य समुदाय इष्ट देवताका रूपमा जात्रामा सहभागी हुने प्रचलन छ ।

 

पार्वतीको गुह्यअङ्ग पतन भएको शक्तिशाली पीठका रूपमा गुह्येश्वरीलाई पुजिन्छ । गुह्येश्वरी मन्दिर व्यवस्थापन समिति, आबद्ध डङ्गोल, कर्माचार्य र खड्गी समुदायबाट यहाँ सोमबार निःशुल्क टीकाप्रसाद वितरण तथा भोज आयोजना गरिएको छ ।