आगामी निर्वाचनबाट कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउँछ : अध्यक्ष ओली

२९ कार्तिक २०७४, बुधबार १३:३४

कात्तिक २९, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरूले बहुमत ल्याएर सरकार बनाउने बताए ।

वाम गठबन्धनद्वारा आज लमजुङको बेसीशहरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावपछि एकता गर्ने गरी वाम गठबन्धन बनाइएको बताए । उनले एमाले र नेकपा (माओवादी केन्द्र) ले एउटै चुनाव चिह्नमा चुनाव लड्ने समझदारी बने पनि प्राविधिक कारणले रोकिएको बताए ।  देशको विकासलाई नयाँ उचाइमा पुर्‍याउन वामपन्थी दलले जित्नुपर्ने उनको भनाइ थियो । “स्थायी सरकार र सुशासनका लागि वाम गठबन्धन भएको हो” – उनले भने ।

 

नेता ओलीले अनावश्यक विवाद र बहसमा अल्झिन नहुने भन्दै जनता अलमल्याउन खोज्नेहरूलाई पराजित गर्दै संगठित हुन आग्रहसमेत गरे ।  मुलुकलाई अगाडि बढाउन सक्ने संकल्प वामपन्थीमा मात्र भएको उनको भनाइ थियो । अस्थिर सरकारले मुलुकको विकास हुन नसकेको स्वीकार्दै उनले अब वामपन्थीको बहुमतको सरकार बन्ने र मुलुक विकासतर्फ अघि बढ्ने पनि बताए ।

 

कार्यक्रममा बोल्दै माओवादी केन्द्रबाट लमजुङमा प्रतिनिधिसभाका उम्मेदवार बनेका देव गुरुङले कम्युनिष्टले नेतृत्व गरे मुलुक विकास पथमा अगाडि बढ्ने बताए । लमजुङका प्रदेश (ख) का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले कसैलाई प्रधानमन्त्री र कसैलाई मुख्यमन्त्री बनाउन वाम एकता नभएको बताए ।(रासस)