आखिर उपेन्द्र यादव सप्तरी किन सरे ? यस्तो छ कारण

१९ कार्तिक २०७४, आईतवार ०२:४४

कात्तिक १९, सप्तरी । मोरङ र सुनसरीबाट चुनाव लडिसकेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सप्तरी आइपुगका छन् । भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका यादवको उम्मेदवारीले सप्तरी २ को चुनावी माहोल रोमाञ्चक बनेको खबर आजको कान्तिपुरमा छ ।

 

अध्यक्ष यादव अहिले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन् । सप्तरी २ मा ७९ हजार २ सय ६३ मतदाता छन् । तीमध्ये करिब १३ हजार यादव समुदायका छन् । वाम गठबन्धनका उमेश यादव पनि यहींबाटै उम्मेदवार छन् । त्यही कारण यादव समुदायको मत बाँडिन सक्छ । तत्कालीन क्षेत्र ३ र २ का केही भाग समेटेर हालको क्षेत्र २ बनाइएको छ । दोस्रो संविधानसभा निर्वाचनमा २ बाट माओवादीका अशोककुमार मण्डल र ३ बाट माओवादीकै उमेशकुमार यादव विजय भएका थिए । फोरम दुवैमा दोस्रो भएको थियो ।

यो क्षेत्रमा राजविराज नगरपालिका, छिन्नमस्ता, तिलाठी कोइलाडी र महादेवा गाउँपालिका छन् । स्थानीय तहको निर्वाचनमा राजविराजमा राजपा, महदेवामा फोरम, तिलाठी कोइलाडीमा राजपा र छिन्नमस्तामा नयाँशक्तिले जितेका थिए । राजपा र फोरम तालमेल भएकाले स्थानीय तहका आधारमा हेर्दा यादवको पल्लाभारी देखिन्छ । तर, बागी–विद्रोहीको लावालस्कर उत्तिकै चुनौतीपूर्ण छ । गठबन्धनको सन्देश पनि कार्यकर्ता तहसम्म पुगिसकेको देखिँदैन । त्यसलाई व्यवस्थापन गर्न नसके र अघिल्ला चुनावकै दिशामा मतदाता गए भने उनलाई गाह्रो हुने देखिन्छ ।