आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो खेलमा नेपालले आज युएईको सामना गर्दै

७ मंसिर २०७४, बिहीबार ०४:०४

मंसिर ७, काठमाडौं । आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो खेलमा नेपालले आज (बिहीबार) युएईको सामना गर्दैछ । अघिल्ला दुई खेलमा दुई अंक पाएको नेपालले तेस्रो खेलमा आज युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

 

नेपाल र युएईबीचको खेल बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपाली समयअनुसार पौने १ बजे खेल सुरु हुनेछ । अघिल्ला दुई खेलमा अंक बाडेको नेपाल युएईविरुद्ध मैदान उत्रदा पहिलो जितको खोजिमा रहनेछ । छनोटको शीर्ष दुई स्थानमा पुग्ने सम्भावना बनाउन पनि नेपाललाई युएईविरुद्ध जित्नैपर्ने दबाब रहेको छ ।

नेपालले यसअघि आयोजक थाइल्याण्ड र हङकङसँग एक एक अंक बाँडेको थियो । टेर्डथाई मैदानमा भएको दुवै खेलमा वर्षा बाधक बनेको थियो । ६ टोली सहभागी छनोटमा नेपाल २ अंकसहित चौथो स्थानमा छ । यस्तै युएई २ अंक जोडेर नै पाँचौ स्थानमा छ । छनोटमा हङकङ र थाइल्याण्ड समान ३ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । यस्तै २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा रहेको छ । दुवै खेल हारेको चीन अंकबिहीन रहेर पुछारमा रहेको छ ।

युएईपछि नेपालले आफ्नो चौथो खेलमा मलेसियासँग शुक्रबार र अन्तिम खेल चीनसँग आइतबार खेल्नेछ । राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको शीर्ष दुई टोलीले आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुनेछ ।

ग्लोबल क्वालिफयर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।