आइतबार मतदान हुने ३२ जिल्लामा ‘चर्चित अनुहार’ को – को हुन् ?

८ मंसिर २०७४, शुक्रबार १५:१९

मंसिर ८, काठमाडौं । आइतबार पहिलो चरणको आम निर्वाचन हुँदैछ । र, चुनाव हुने ३२ जिल्लामा मौन अवधि सुरु भइसकेको छ । पहिलो चरणको यो चुनावले पूर्वप्रधानमन्त्रीदेखि ‘भावी प्रधानमन्त्री’सम्मको राजनीतिक भाग्य एवं भविश्यको रेखा कोर्दैछ । उनीहरुको भाग्य आइतबार मतपेटिकामा कैद हुनेछ र मंसिर २१ पछि खुल्नेछ ।


पहिलो चरणको चुनावमा भाग लिइरहेका ठूला नेताहरुको चर्चा गर्दा सिन्धुपाल्चोक, गोरखा र नुवाकोटलाई सम्झनुपर्ने हुन्छ । त्यसैगरी ताप्लेजुङले पनि ठूला नेताको भविश्यबारे आइतबार हिसाब किताब गर्दैछ ।

पहिलो चरणको चुनावमा सबैभन्दा बढी चर्चा गोरखाको छ । जहाँ नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । चुनावमा होमिएका ५ पूर्वप्रधानमन्त्रीमध्ये पहिलो चरणमा बाबुराममात्रै एक्लै छन् ।

गोरखामा बाबुराम भट्टराईको प्रभाव राम्रो रहेको बताइए पनि पछिल्लो चरणमा आइपुग्दा नारायणकाजी श्रेष्ठले उनीमाथि दबाव दिएको अवस्था छ ।

माओवादी नेता श्रेष्ठले माओवादी, एमाले र नेपाली कांग्रेसको समेत भोट पाएर जित्ने दाबी गरेका छन् ।

गोरखामै नेपाली कांग्रेसका अर्का राष्ट्रिय नेता चीनकाजी श्रेष्ठ पनि क्षेत्र नम्बर १ बाट चुनाव लड्दैछन् । उनले एमाले माओवादी गठबन्धनको सामना गर्दैछन् ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्षसमेत रहेका बरिष्ठ राजनीतिज्ञ पशुपतिसमशेर राणा सिन्धुपाल्चोक २ मा वाम गठबन्धनका उम्मदेवार शेरबहादुर तामाङसँग आफ्नो भाग्यको परीक्षा लिँदैछन् । पशुपतिसमशेरको जितहारलाई उसको गठबन्धन पार्टनर नेपाली कांग्रेसले महत्वका साथ हेरेको छ । तर, वाम गठबन्धनको चुनौती पार गर्नुपर्ने राणासँग चुनौती छ ।

सिन्धुपाल्चोक १ मा माओवादी नेता एवं पूर्वमन्त्री अग्नी सापकोटा र बहालवाला मन्त्री मोहनबहादुर बस्नेतको अग्निपरीक्षा आइतबारको मतदानबाट हुनेछ ।

पहिलो चरणको निर्वाचनमा अर्को हेभीवेट भिडन्त हुने ठाउँ भनेको नुवाबोट हो । सो जिल्लामा कांग्रेस नेता अर्जुननरसिंह केसीले आफूलाई भावी ‘प्रधानमन्त्री’ बताउँदै भोट मागिरहेका छन् । नुवाकोटमै डा. रामशरण महत अर्का कांग्रेसका हस्ती उठेका छन् । महत कांग्रेसको सरकारका अर्थमन्त्रीमा एकल दाबेदार हुन् । तथापि उनले विगतमा कहिलेकाँहि आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा समेत प्रस्तुत नगरेका होइनन् ।

तथापि कांग्रेसका यी दुबै हस्तीहरुले नुवाकोटमा वाम गठबन्धनका मझौला कदका नेताहरुलाई जित्नुपर्ने चुनौती छ । आइतबार हुने मतदानले यसको हिसाब(किताव गर्ने भए पनि मंसिर २२ गतेबाट मतगणना नभएसम्म महत र केसीको भाग्य र भविश्यको फैसला हुने छैन ।

नुवाकोट, गोरखा र सिन्धुपाल्चोकपछि आइतबार मतदान हुने अर्को ठाउँ ताप्लेजुङ हो, जहाँ एमालेका केन्द्रीय सचिव योगेश भट्टराईको भाग्य परीक्षा हुँदैछ ।

त्यसो त पाँचथरमा कांग्रेसका भीष्मराज आङदेम्बे र एमालेका बसन्त नेम्वाङको राजनीतिक भविश्य पनि आइतबार नै फैसला हुनेछ ।

पहिलो चरण अन्तरगत आइतबार हुने मतदानले संखुवासभामा एमालेका पुराना नेता राजेन्द्र गौतम र कांग्रेसका पूर्वमन्त्री दीपक खड्काको भाग्य परीक्षा गर्नेछ ।

सोलुखुम्बुमा कांग्रेसका पुराना नेता बलबहादुर केसीलाई सामान्य नेताले चुनौती दिँदैछन् । खोटाङमा भने दुबै गठबन्धनबाट मझौला कदका नेताहरु चुनावी प्रतिस्पर्धामा छन् ।

पहिलो चरणमा मतदान हुने भोजपुरमा प्रतिनिधिसभामा सामान्य नेता उठे पनि प्रदेशमा चर्चित युवा उम्मेदारको भाग्य परीक्षा हुँदैछ । पूर्वसञ्चारमन्त्री शेरधन राई, पूर्वअखिल अध्यक्ष राजेन्द्र राई र संघीय समाजवादीबाट कांग्रेसको साथ लिएका युवा नेता अजम्बर काङमाङ राईको उपस्थितिले भोजपुरमा केन्द्रको भन्दा प्रदेशको चुनावलाई रोचक बनाएको छ ।

आइतबार हुने मतदानको अर्को रोचक पाटो भनेको ओखलढुंगाको निर्वाचन हो । जहाँ एमाले र कांग्रेसका झर्झराउँदा नेताहरु यज्ञराज सुनुवार र रामहरि खतिवडाको भाग्य परीक्षा हुनेवाला छ ।

रसुवामा पनि पहिलो चरणमा चुनाव हुँदैछ । जहाँ एमाले र कांग्रेस दुबै दलबाट ठूला व्यापारीहरुवीच प्रतिस्पर्धा हुँदैछ ।

मुस्ताङमा रोमी गौचन कांग्रेसका ठूला नेताको भाग्य परीक्षा आइतबारको चुनावले गर्नेछ । मनाङ र मुस्ताङको चिसोलाई मंसिर १० को राजनीतिले तातो बनाएको छ ।

त्यसैगरी लमजुङका मतदाताले पनि आइतबार ठूला नेताहरुको भाग्यको परीक्षा लिँदैछ । लमजुङबाट प्रतिनिधिसभामा माओवादी नेता देव गुरुङ र कांग्रेस नेता दिलबहादुर घर्तीको परीक्षा हुँदैछ भने प्रदेशमा मुख्यमन्त्रीका दाबेदार रहेका पृथ्वीसुब्बा गुरुङको परीक्षा हुँदैछ ।

पहिलो चरणमा आइतबार मतदान चुनाव हुने धादिङ जिल्लामा पनि केन्द्रको भन्दा प्रदेशेको चुनावमा रौनक छ । किनभने त्यहाँ एमाले नेता राजेन्द्र पाण्डे, माओवादीका शालिकराम जमर कट्टेल लगायतका नेताहरु प्रदेशमा झरेका छन् । प्रतिनिधिसभामा त्यहाँबाट मझौला नेताहरु भिड्दैछन् ।

त्यसैगरी पहिलो चरणका चर्चित अनुहारहरुमा बाग्लुङबाट देवेन्द्र पौडेल,रुकुमबाट जनार्दन शर्मा, कमला पुन, रोल्पाबाट वर्षमान पुन, जाजरकोटबाट शक्तिबहादुर बस्नेत र राजीवविक्रम शाह चुनाबी मैदानमा छन् । हुम्लाबाट जीवनबहादुर शाही र कालीकोटबाट महेन्द्रबहादुर शाही प्रदेशको मुख्यमन्त्रीका रुपमा चुनावी मैदानमा छन् ।

पहिलो चरण अन्तरगतका दार्चुला, बझाङ, बाजुरा र बैतडीबाट भने मध्यमस्तरका नेता नेताहरु चुनावी मैदानमा छन् । मुगु जुम्ला र डोल्पामा पनि राष्ट्रिय स्तरका खेलाडीहरु मैदानमा छैनन् ।

आइतबार कुन कुन जिल्लामा हुँदैछ मतदान ?