२ किलो अफिम र २२ किलो चरेससहित पाँच जना पक्राऊ

२४ आश्विन २०७४, मंगलवार १६:५३

असोज २४ काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित छुटाछुटै स्थानबाट पाँचजनालाई पक्राउ गरेको छ ।

दुई किलो अफिम र २२ किलो चरेससहित धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान सोमबार पक्राउ गरेको छ । ब्यूरोले मंगलबार आज पत्रकार सम्मेलन गरी तामाङसँग एक किलो अफिम, १२ किलो चरेस, दुई हजार नेपाली रुपैयाँ र तौल गर्ने मेसिन एक थान तथा मोक्तानसँग एक किलो अफिम, १० किलो चरेस, सात हजार नेपाली रुपैयाँ र ५८ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिएको छ ।

 

ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ठूले राईले तामाङ र मोक्तान लामो समयदेखि लागुऔषध कारोबारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जानकारी दिए । यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना७ख ८७९ नंको यात्रुवाहक बसमा लागुऔषध लिएर आउँदै गरेको अवस्थामा बाराका लक्ष्मण शाह, जोगिन्दर सहनी र काभ्रेका गोपाल श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख ऋषिराम घर्तिमगरले दुईवटा झोलामा कम्बलभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले जाँच गर्दा ५६२ एम्पुल लागुऔषध तथा एक हजार ४०८ ट्याब्लेट नाइट्रेपाम बरामद गरिएको बताए । रासस