स्वतन्त्र उम्मेदवार मनाङेलाई सघाउन लामाको उमेदवारी फिर्ता

८ कार्तिक २०७४, बुधबार ०९:३०

कात्तिक ८, काठमाडौँ । मनाङको प्रदेशको क्षेत्र नम्बर २ की एमाले उमेदवार खण्डा लामाले स्वतन्त्र उम्मेदवार दीपक मनाङेलाई सघाउन भन्दै आफ्नो उमेदवारी फिर्ता लिएकी छन् ।

लामाले दीपक मनाङेलाई सघाउन भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले पुष्टि गरेका छन् ।

जिल्लाबाट सर्वसम्मत सिफारिस भएपनि मनाङेको सर्वत्र आलोचना भएपछि एमालेले उनको ठाउँमा लामालाई उम्मेदवार बनाएको थियो । तर मनाङेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

मनाङमै चुनावी अभियानमा रहेका मनाङ्गेले टेलिफोनमा भने, “सबैको समर्थन अनुसार मैले स्वतन्त्र उमेदवारी दिएको थिएँ । बाहिर हल्ला भएजस्तो मनाङको अवस्था होइन । हामी सबै मिलेर अगाडि बढ्ने हो । हामी दुई जना उठ्दा हार्ने देखियो र मिल्यौं ।”