सबै मिलेर निर्वाचन सफल पारौं: सञ्चारमन्त्री बस्नेत

१ कार्तिक २०७४, बुधबार ०८:०७

१ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सबै मिलेर सफल पार्नुपर्ने बताएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज यहाँ आयोजना गरेको स्वागत एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने– “स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ, देशमा पूर्ण रुपमा संविधान कार्यान्वयनका लागि आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्नु जरुरी छ” ।

मन्त्री बस्नेतले व्यक्तिगत स्वार्थ र आरोप प्रत्यारोपलाई त्यागेर मुलुकका लागि अगाडि बढ्ने समय आएको चर्चा गर्दै दलीय र व्यक्तिगत स्वार्थमा लागेर अब देशलाई अलमल्याउने समय नभएकोले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गरेर संविधान पूर्णरुपमा कार्यान्वयन गराइ मुलुकलाई समृद्धितर्फ लैजान जरुरी रहेको बताए ।

केही सञ्चार माध्यममा सत्य, तथ्य समाचार भन्दा पनि बेथिति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सही र सत्य रुपमा आमनागरिकमा ल्याउनुपर्ने मिडियाको दायित्व चुक्दै जान थालेको उनको भनाई छ ।

साथै उनले पत्रकारको हकहित र समस्या समाधानका लागि पत्रकार महासंघसँग बसेर आफू छलफल गर्न तयार रहेको पनि बताए । मन्त्री बस्नेतले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई स्वागत एवं सम्मान प्रदान गरेका थिए ।

यसैगरी, कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापामागर र महासचिव रमेश विष्टले पत्रकारको मागप्रति सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् ।